एकदिवसीय क्रिकेटः अरण्यज्योति १६ रनले विजयी, सन्जिव कार्कीको ८९ रन, लेकसाइड १९८ मै सीमित

Share:

पोखरा । पोखरामा जारी एकदिवसीय क्रिकेट प्रतियोगितामा अरण्यज्योति क्रिकेट क्लबले शानदार प्रदर्शन गर्दै लेकसाइड क्रिकेट क्लबलाई १६ रनले पराजित गरेको छ। कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा अरण्यज्योतिले रोमाञ्चक जित दर्ता गर्‍यो।

२१५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको लेकसाइड क्रिकेट क्लब ४४.५ ओभरमा १९८ रनमा अलआउट भयो। लेकसाइडका लागि सरोज धामी चौधरीले १३६ बलमा ८२ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। यस्तै हरिशंकर तिवारीले ३७ रनको योगदान दिए।

अरण्यज्योतिका बलरहरूले निर्णायक समयमा प्रभावकारी प्रदर्शन गरे। अब्दुल खलिक, अभिषेक भुजेल र प्रविण पौडेलले समान २-२ विकेट लिँदै लेकसाइडको इनिङ्स सम्हाल्न नदिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अरण्यज्योति क्रिकेट क्लबले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २१४ रन बनाएको थियो। टोलीका लागि सन्जिव कार्कीले ८९ रनको शानदार पारी खेल्दै आधार तयार गरे। घनश्यामकुमार यादवले ४५ र सन्देश न्युरेले २५ रन जोडे।

लेकसाइडका बलरतर्फ हरिशंकर तिवारीले १० ओभरमा २ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे। यस्तै केशव सुनार र सन्देश शाहले समान २-२ विकेट लिए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत अरण्यज्योतिका सन्जिव कार्की ‘प्लेयर अफ दि म्याच’ घोषित भए। यससँगै समूह ‘ए’ तर्फको एक चरणका खेलहरू सम्पन्न भएका छन्।

सिंगल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा अब बुधबारदेखि समूह ‘बी’ तर्फका एक चरणका खेल सुरु हुनेछन्। दुवै समूहका एक चरणका खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

कास्की जिल्ला क्रिकेट संघका अनुसार त्यसपछि बाँकी रहेका लिग चरणका खेल पोखरा रंगशालासँगै लेखनाथस्थित मैदानमा समेत सञ्चालन गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: