मनाङमा रास्वपा अनुपस्थित, उम्मेदवारको मोबाइल स्विच अफ

Share:

पोखरा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मनाङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दर्ता गराउन सकेन । मनोनयन दर्ताको समय सकिँदासम्म जम्मा पाँच जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार मंगलबार तोकिएको समयभित्र पाँच उम्मेदवारले मात्रै मनोनयन दर्ता गराएका हुन् । ‘समय सकिएको छ । हालसम्म पाँच जनाले मात्रै मनोनयन दर्ता गराउनुभएको छ,’ उनले बताए ।

मनाङमा नेपाली कांग्रेसबाट निवर्तमान सांसद टेकबहादुर गुरुङ र नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट यशोदा गुरुङ सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् । यशोदा पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कुविरसिंह गुरुङ र मंगोल नेशनल अर्गानाइजेशनबाट रामबहादुर घलेले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रास्वपाको उम्मेदवारी नपरेसँगै मनाङमा यसपटक पनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै हुने देखिएको छ । एमालेका पोल्देन छोपाङ गुरुङ २०७९ सालको निर्वाचनमा कांग्रेसका टेकबहादुर गुरुङसँग पराजित भएका थिए । पुरानै प्रतिद्वन्द्वीबीच यसपटक पनि मुख्य भिडन्त हुने आकलन गरिएको छ ।

रास्वपा गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीका अनुसार मनाङका लागि अनिल गुरुङलाई पार्टीको टिकट दिइएको थियो । ‘उहाँलाई टिकट दिइएको हो, तर अहिले उहाँको मोबाइल स्विच अफ छ,’ त्रिपाठीले भने, ‘साथीहरूसँग बुझ्न जाँदै हुनुहुन्छ भन्ने जानकारी आएको छ ।’

रास्वपाको अनुपस्थितिले मनाङको चुनावी समीकरणमा अप्रत्याशित मोड आएको छ भने सीमित उम्मेदवारका कारण यसपटकको चुनाव झनै केन्द्रित र रोचक हुने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: