पोखरा महोत्सव-१४ मा दर्शकको उत्साह निरन्तर, लाइभ ब्याण्डदेखि लोकदोहोरीसम्म

Share:

पोखरा । युनाइटेड क्लबको आयोजनामा सञ्चालन भइरहेको पोखरा महोत्सवको १४ औँ संस्करण भव्य रूपमा अघि बढिरहेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाएर स्थापना कालदेखि नै अमरसिंह खेलमैदानमा आयोजना हुँदै आएको महोत्सवले यस वर्ष पनि आफ्नो फरक पहिचानलाई निरन्तरता दिएको छ ।

पुष २९ गतेदेखि सुरु भएको महोत्सव आठौँ दिनसम्म आइपुग्दा दर्शकको उल्लेखनीय सहभागिता देखिएको छ । पोखरामा आयोजना हुने अन्य मेला-महोत्सवभन्दा फरक ढंगले सञ्चालन हुँदै आएको पोखरा महोत्सवले यही विशेषताका कारण दर्शकको निरन्तर साथ पाउँदै आएको युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए ।

उनका अनुसार पोखरा महोत्सवको सबैभन्दा ठूलो आकर्षण भनेकै १२-१३ दिनसम्म हरेक साँझ लाइभ ब्याण्डको प्रस्तुति हो । युवाहरूको रुचिलाई केन्द्रमा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित ब्याण्डहरूलाई प्रस्तुत गरिँदै आएको छ । खर्चिलो भए पनि सुरुवातदेखि नै लाइभ ब्याण्डलाई प्राथमिकता दिँदै आएको र यही कारण महोत्सव १४ औँ संस्करणसम्म आइपुगेको बख्रेलले उल्लेख गरे ।

महोत्सवमा यसअघि लाहुरे, डीमर्चा, लेकाली, अनुप्रस्थलगायतका चर्चित ब्याण्डहरूले प्रस्तुति दिइसकेका छन् । कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाका अनुसार माघ ८ गते चर्चित गायक सबिन राईको लाइभ कन्सर्ट हुन बाँकी छ । साथै रकहेड्स, जेम्सी, भीटेन, पर्पललगायतका कलाकारहरूको ¥याप तथा लाइभ प्रस्तुति पनि महोत्सवको मुख्य आकर्षण बनेको छ ।

महोत्सवको आठौँ दिन लोकदोहोरी गायिका प्रीति आलेले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरिन् । भाइरल गीत ‘झोरा’ मा दर्शक नाच्दै झुमेपछि अमरसिंह खेलमैदान सांगीतिक रंगमा रंगिएको थियो । प्रीति आलेसँगै प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुनिता नेपाली, सरला पाण्डे, प्रशान्त तामाङ र पूजा तामाङलगायत कलाकारहरूको प्रस्तुति दर्शकका लागि विशेष बन्यो । साँझको लाइभ ब्याण्डतर्फ एवाईजीको प्रस्तुतीमा युवाहरू उत्साहपूर्वक झुमेका थिए ।

नवौँ दिन लोकदोहोरीतर्फ शान्तारानी परियार, पार्वती जिसी, चोलेन्द्र पौडेल, रामचन्द्र पौडेल (आरसी), मधु थापा मगर, कृष्ण भट्टराई र आरोही रुचालको प्रस्तुति रहनेछ । साथै जादुगर दीपक थापा मगरको जादु कला र साँझको लाइभ ब्याण्डतर्फ रकहेड्सको प्रस्तुति रहने महोत्सवका प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

यसैबीच महोत्सवअन्तर्गत आयोजित विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता पनि आकर्षणको केन्द्र बनेको छ । मंगलबार डायमण्ड सेकेण्डरी स्कुल, सूर्योदय स्कुल र ज्ञानुबाबा स्कुलले प्रस्तुति दिएका थिए भने बुधबार कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुलको प्रस्तुति रहनेछ ।

सांगीतिक मनोरञ्जन, सांस्कृतिक कार्यक्रम र युवामैत्री प्रस्तुतिले पोखरा महोत्सव-१४ ले अमरसिंह खेलमैदानलाई दिनहुँ उत्सवमय बनाइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: