
पोखरा । कास्की जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले एभरेष्ट क्रिकेट क्लबलाई ३२६ रनको विशाल अन्तरले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको समूह ‘ए’ को खेलमा सांग्रिलाले एकतर्फी प्रदर्शन गर्दै दबदबा जमायो ।
टस जितेर पहिले ब्याटिङ गरेको सांग्रिलाले ४७.२ ओभरमा अलआउट हुँदै ३७६ रनको विशाल योगफल तयार गर्यो । सांग्रिलाका सिब्रिन श्रेष्ठले उत्कृष्ट शतकीय पारी खेले । उनले ७९ बलमा १२१ रन प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए । यस्तै सञ्जय नेपालले ३५ बलमा ३४ रन र रिकेश गुप्ताले ४२ बलमा ३३ रनको योगदान दिए ।
३७७ रनको विशाल लक्ष्य पछ्याएको एभरेष्ट क्रिकेट क्लब १८.३ ओभरमै ५० रनमा अलआउट हुन पुग्यो । एभरेष्टका लागि धनजु यादवले १३ रन र सचिन यादवले १० रन बनाए । सांग्रिलाका बलरहरू सामु एभरेष्टका ब्याटरहरू टिक्न सकेनन् ।
बलिङतर्फ सांग्रिलाका राज परियारले ४.३ ओभरमा १ मेडनसहित ६ विकेट लिँदै विपक्षी टोलीलाई ध्वस्त बनाए । यस्तै सञ्जय नेपालले २ विकेट तथा विपिन खत्रीले १ विकेट लिए ।
एभरेष्टका तर्फबाट सिरजन पौडेलले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ६ विकेट लिँदै उत्कृष्ट बलिङ गरे । नियाज अहमद र युवराज ठाकुरले समान १–१ विकेट हात पारे । उत्कृष्ट शतकीय पारी खेलेका सिब्रिन श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
माघ २ गतेदेखि सुरु भएको प्रतियोगितामा १० क्लबको सहभागिता रहेको छ । समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ‘बी’ मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छ्रे क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब सहभागी छन् ।
प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
