
पोखरा । पोखरा महानगरपालिका-३२ लामेआहालमा सञ्चालित राधाकृष्ण वृद्धाश्रमलाई पोखरा महानगरपालिकाबाट १ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सामग्री सहयोग प्राप्त भएको छ।
महानगरपालिकाको सामाजिक विकास शाखाअन्तर्गत सञ्चालन गरिएको ‘वृद्धाश्रम सहयोग कार्यक्रम’ मार्फत बुधबार आयोजित कार्यक्रममा वडा नं. ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले आश्रम व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण गरे।
सहयोग सामग्रीमा जाडोका लागि आवश्यक सिरक, डसना, ग्यास, तेल, खाना खाने प्लेट, हटकेसलगायत दैनिक उपभोग्य सामग्री समावेश छन्।
सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष कार्कीले आश्रममा आश्रित आमाबुवाको सहज जीवनयापनका लागि वडा कार्यालयबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा आश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछाने र संस्थापक अध्यक्ष प्रेम लिगलले स्थानीय सरकारको सहयोगले आश्रम सञ्चालनमा ठूलो राहत मिलेको भन्दै महानगर र वडा कार्यालयप्रति आभार व्यक्त गरे।
संस्थापक अध्यक्ष लिगलका अनुसार हाल उक्त वृद्धाश्रममा विभिन्न जिल्लाबाट आएका ३५ जना ज्येष्ठ नागरिक आश्रित छन्।
यसैबीच, सञ्चालक समिति सदस्य विष्णुबहादुर बस्नेतले बेसहारा ज्येष्ठ नागरिकको संरक्षण र पालनपोषणका लागि सञ्चालित आश्रमलाई दिगो, व्यवस्थित र प्रभावकारी बनाउन सरकारी निकायसँगै सामाजिक संघसंस्थाहरूको निरन्तर सहयोग अपरिहार्य रहेको बताए।
