पाथीभरादेवीको दर्शन गर्न बालेन पुगे ताप्लेजुङ, भोलि झापा झर्ने, ओलीको गढमा चुनौती दिँदै

Share:

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) साह यतिबेला पूर्वी पहाडको यात्रामा छन्। चुनावी दौडधुपकै बीचमा बालेन बिहीबार साँझ प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिर दर्शनका लागि ताप्लेजुङ पुगेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनौती दिइरहेका बालेनको यो यात्रा केवल धार्मिक आस्थासँग जोडिएको तीर्थयात्रा हो कि चुनावी सन्देश बोकेको राजनीतिक ‘हाइकिङ’, चासोको विषय बनेको छ।

बिहीबार दिउँसो ताप्लेजुङको सदरमुकाम फुङ्लिङ पुगेका बालेन धेरै बेर नअडिकी पाथीभरा यात्रामा निस्किएका थिए। फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनका अनुसार बालेनसहितको टोली पाथीभरा मन्दिरको प्रवेशद्वार मानिने काफ्ले पाटीमा बास बस्नेछ।

“बाटोमा स्थानीय र कार्यकर्तासँग सामान्य भेटघाट गर्दै साँझतिरै उनीहरू माथिल्लो क्षेत्रमा लाग्नुभएको हो,” मेयर मादेनले भने, “आजको रात काफ्ले पाटीमै बस्नुहुन्छ। त्यहाँ होटल सुविधा पनि राम्रै छ।”

पाथीभरा मन्दिर पुग्न गाडी जाने अन्तिम बिन्दुबाट करिब ४ घण्टा पैदल यात्रा गर्नुपर्छ। समुद्री सतहदेखि ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको यो शक्तिपीठ पछिल्लो समय युवामाझ ‘हाइकिङ ट्रेल’ का रूपमा पनि लोकप्रिय बन्दै गएको छ। बालेन पनि यही रुट हुँदै पैदलै मन्दिर पुग्ने तयारीमा छन्।

बालेनले शुक्रबार बिहानै पाथीभरा देवीको दर्शन गर्ने र त्यसपछि पुनः झापाको दमक फर्किने कार्यतालिका बनाएका छन्। छोटो पहाडी भ्रमण र धार्मिक आशीर्वादपछि उनी आफ्नो निर्वाचन क्षेत्रमा आक्रामक घरदैलो अभियान सुरु गर्ने तयारीमा छन्।

ओलीको राजनीतिक गढ मानिने झापा–५ मा बालेनको उम्मेदवारी आफैंमा अर्थपूर्ण मानिएको छ। त्यही बेला शक्तिपीठ पाथीभरा यात्राले बालेनको अभियानलाई धार्मिक, सांस्कृतिक र राजनीतिक तीनै कोणबाट चर्चा दिलाएको छ।

कमेन्ट गर्नुहोस्
Share: