
काठमाडौं। चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा हुँदै छ। बलिराम चौहानको निर्देशनमा तयार भएको यो चलचित्रले प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ।
निर्देशक चौहानका अनुसार यो चलचित्र केवल हेरेर बिर्सिने कथा मात्र नभई दर्शकले गहिराइमा अनुभूत गर्ने एउटा विशेष सिनेमा हो। चलचित्रले मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास गरेको छ।
चलचित्रको ट्रेलर सार्वजनिक भएपछि धेरैले यसलाई ‘हरर’ विधाको फिल्मको रूपमा अनुमान गरेका थिए। तर, निर्देशक चौहानले यसलाई स्पष्ट पार्दै भनेका छन्, “हाम्रो चलचित्र हरर होइन, यो एउटा मनोवैज्ञानिक ड्रामा–थ्रिलर हो। यद्यपि, केही दृश्यहरूले दर्शकलाई डरको अनुभूति भने पक्कै गराउनेछन्।”
पछिल्लो समय नेपाली चलचित्र उद्योगमा नयाँ निर्देशकहरूको आगमन र पलायनको क्रम बढ्दो छ। यसै सन्दर्भमा निर्देशक चौहान आफूलाई फरक रूपमा प्रस्तुत गर्छन्। उनी भन्छन्, “म रातारात हिट हुन वा त्यसैगरी हराउन आएको होइन। म एउटा लामो यात्राको लागि तयार भएर चलचित्र क्षेत्रमा प्रवेश गरेको हुँ। मेरो योगदान र गन्तव्य अरूभन्दा फरक हुनेछ।”
चलचित्र ‘द ब्लू लाइट’ मा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा देखिएका छन्। चलचित्रको कथा यिनै दुई पात्रको वरिपरि घुम्ने निर्देशकले जानकारी दिए। स्थापित कलाकारहरूको ठूलो जमघट रहे पनि भूमिकालाई लिएर कुनै विवाद नभएको र सबै कलाकारले आफ्नो चरित्रमा नयाँपन पाएको चौहानको दाबी छ।
“हामीले प्रेम, धोका र बदलाकै विषयलाई नयाँ शैलीमा देखाउन खोजेका छौँ। यसभित्रका पात्रहरूको संवेग र भावनाहरू निकै संवेदनशील छन्, जसले दर्शकलाई नयाँ खालको अनुभव दिनेछ,” उनले भने।
लगातार नेपाली चलचित्रले दर्शकलाई निराश बनाइरहेका बेला ‘द ब्लू लाइट’ ले भने दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क देखिएको छ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन्। रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन्। चलचित्र ‘द ब्लू लाइट’ बलिराम चौहानको डेब्यु निर्देशन हो।
