चुनावी तातो माहोलबीच शान्त पशुपति

Share:

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा देशभर राजनीतिक गतिविधि तीव्र बनेका छन्। प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारी दिएका राजनीतिक दलहरू आ-आफ्नो चुनावी अभियानमा व्यस्त छन्। सभा, जुलुस र भेटघाटले देश पूरै चुनावी रंगमा रङ्गिएको छ।

भर्खरै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भइसकेको छ भने अब सबैको ध्यान प्रतिनिधि सभा निर्वाचनतर्फ केन्द्रित भएको छ। चुनावी चहलपहलले सहरदेखि गाउँसम्म माहोल तातेको छ।

तर, यही चुनावी तातो माहोलको ठीक उल्टो दृश्य देखिन्छ-सधैँ भिडभाडले भरिने पशुपतिनाथ मन्दिर परिसरमा। देशभर राजनीतिक सरगर्मी बढिरहँदा पशुपति क्षेत्र भने यतिबेला अस्वाभाविक रूपमा शान्त छ।

पशुपतिनाथमा दर्शनार्थीको भीड छैन। सामान्य रूपमा मानिसहरू दर्शनका लागि आउने गरेका छन्, साँझ नियमित आरती भइरहेको छ र आर्यघाटमा मृतकको अन्त्येष्टि पनि नियमित रूपमा चलिरहेको छ।

यतिबेला कुनै ठूला हिन्दू धार्मिक चाडपर्व नभएकाले दर्शनार्थीको भीड नबढेको भए पनि, अरू बेला सधैँ व्यस्त रहने पशुपति परिसर चुनावी माहोलले देश छपक्कै छोप्दा पनि अपेक्षाकृत शान्त देखिनु आफैंमा चासोको विषय बनेको छ।

राजनीतिक हलचल र चुनावी नाराबाट टाढा, पशुपति क्षेत्र भने अहिले पनि आफ्नै लयमा, शान्त र स्थिर देखिन्छ।

कमेन्ट गर्नुहोस्
Share: