बालेनको सुदूरपश्चिम चुनावी दौडाहाः बुधबार डडेल्धुरा, बैतडी हुँदै दार्चुला

Share:

काठमाडौं। पश्चिम नेपालको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार डडेल्धुरा हुँदै दार्चुला पुग्ने भएका छन्।

बालेन बुधबार बिहान साढे ९ बजे डडेल्धुरा पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। डडेल्धुराको महेश्वरी मोडस्थित रास्वपा कार्यालयमा पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

डडेल्धुराको कार्यक्रमपछि उनी बैतडीतर्फ प्रस्थान गर्नेछन्। दिउँसो १२ बजे बैतडीको पाटनस्थित रास्वपाको सम्पर्क कार्यालयमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि बालेन सुदूरपश्चिमको उत्तरी जिल्ला दार्चुला पुग्नेछन्। बुधबार अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वरस्थित सम्पर्क कार्यालयमा स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यतालिका रहेको सचिवालयले जानकारी दिएको छ।

यसअघि बालेन मंगलबार बिहान बर्दियाबाट सुदूरपश्चिम पुगेका थिए। उनले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पुगेर रास्वपाका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै चुनावी सन्देश प्रवाह गरेका थिए।

आगामी निर्वाचनलाई लक्षित गर्दै बालेनको यो सुदूरपश्चिम दौडाहाले रास्वपाको संगठन विस्तार र चुनावी रणनीतिमा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: