
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित कास्की जिल्लामा २ हजार २ सय ९९ जना म्यादी (निर्वाचन) प्रहरी छनोट भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्की अन्तर्गतको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले मंगलबार अन्तिम नतिजा सार्वजनिक गरेको हो । प्रकाशित नतिजा अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल गरी दुई समूहमा विभाजन गरी जनशक्ति छनोट गरिएको छ ।
समितिका अनुसार नेपाल प्रहरीतर्फ २ हजार ८ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ २ सय ९१ जना मुख्य उम्मेदवार छनोट भएका छन् । यससँगै कास्कीमा कुल २ हजार २ सय ९९ जनाले म्यादी प्रहरीका रूपमा निर्वाचनमा खटिने अवसर पाएका छन् ।
यसैगरी, योग्यताक्रमका आधारमा २ सय १२ जना उम्मेदवारलाई वैकल्पिक सूचीमा राखिएको छ । मुख्य उम्मेदवार अनुपस्थित भएमा वा कुनै कारणले कोटा रिक्त भएमा वैकल्पिक सूचीबाट पदपूर्ति गरिने प्रशासनले जनाएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालका अनुसार शारीरिक तन्दुरुस्ती, लिखित परीक्षा र अन्तर्वार्तासहित छनोट प्रक्रियाका सबै चरण सफलतापूर्वक उत्तीर्ण गरेका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको हो ।
सहायक प्रजिअ बरालले छनोट भएका मुख्य उम्मेदवारहरूलाई नियुक्ति तथा तालिमका लागि यही माघ १८ गते बिहान १० बजे सम्पर्क गर्न आग्रह गरेका छन् । नेपाल प्रहरीतर्फ सिफारिस भएकाले जिल्ला प्रहरी कार्यालय कास्कीमा र सशस्त्र प्रहरीतर्फ सिफारिस भएकाले सशस्त्र प्रहरी बल नेपाल २४ नं. कालिका गण, मालेपाटनमा सम्पर्क गर्नुपर्नेछ ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारद्वारा जारी “निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन गर्ने सम्बन्धी एकीकृत कार्यविधि-२०८२” अनुसार छनोट प्रक्रिया पूरा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
