
पोखरा । इनोभेसन इन एजुकेसन (ईसीइसी) को प्राविधिक सहयोगमा पोखरा महानगर क्षेत्रका विभिन्न विद्यालयहरूमा सञ्चालन भइरहेको ईसीडीदेखि आधारभूत तहसम्मको शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ।
पोखरा महानगर क्षेत्रका विभिन्न १२ वटा विद्यालयमा लागू गरिएको उक्त कार्यक्रम शिक्षण-सिकाइ प्रक्रिया, विद्यार्थी उपलब्धि र विद्यालय व्यवस्थापनका दृष्टिले सकारात्मक प्रभाव पारिरहेको सरोकारवालाहरूले बताएका छन्।
ईसीइसीले विगत तीन वर्षदेखि शिक्षकहरूको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक-अभिभावक संघका प्रतिनिधिहरूका लागि नेतृत्व विकास, अन्तर्राष्ट्रिय बाल विकास सहजकर्ता प्रशिक्षण तथा शैक्षिक सुधारका लागि निरन्तर अनुगमन, परामर्श र प्राविधिक सहायता प्रदान गर्दै आइरहेको छ।
परियोजनाले सन् २०२६ मा सञ्चालन गरिने कार्यक्रमहरू समेत सार्वजनिक गरेको छ। जसअन्तर्गत नेतृत्व विकास तालिम, कक्षा १ देखि ६ सम्म पठन सुधार कार्यक्रम, ईसीडीदेखि कक्षा ३ सम्मका शिक्षक तथा सहजकर्ताका लागि पुनर्ताजगी तालिम, कक्षा १ देखि ६ सम्म शिक्षण सहजीकरणका लागि प्राविधिक सहायता, आवश्यकता अनुसार थप शैक्षिक कार्यक्रमहरू, ईसीडीदेखि कक्षा ३ सम्मको पाठ्यक्रम तथा लेसन प्लानसम्बन्धी कार्यशाला, आइसिटी टिचर ट्रेनिङ, एसएमसी टक, अभिभावक गोष्ठी तथा नीति निर्माणसम्बन्धी छलफल कार्यक्रम सञ्चालन गरिनेछ।
ईसीइसीको अनुसन्धान तथा विकास विभागका उपप्रमुख सिङ्गी थिकेपा ल्होमीका अनुसार परियोजना लागू भएका विद्यालयका शिक्षकहरूका लागि प्रशिक्षक प्रशिक्षण, आइसिडिपी हेरचाह तालिम, अङ्ग्रेजी फोनेक्स तालिम, कक्षा ६ देखि ८ सम्म भाषा तालिम तथा गणित र विज्ञान विषयमा सुधार लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
यसअघि कक्षा ६ देखि ८ सम्मका शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि गणित तथा विज्ञान विषयगत तालिम, नेपाली र अङ्ग्रेजी फोनेक्स तालिम, अभिभावक अभिमुखीकरण सेमिनार, व्यवहार व्यवस्थापन कार्यशाला तथा प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म कक्षाभित्र सहयोग कार्यक्रम सञ्चालन गरिएको थियो।
२०७९ सालदेखि पोखरा महानगर क्षेत्रका विभिन्न क्लष्टरका १२ विद्यालयमा शैक्षिक सुधार परियोजनाका रूपमा सञ्चालनमा रहेको यो कार्यक्रम सन् २००१ मा स्थापना भएको ईसीइसी संस्थाले देशभरका सरकारी तथा निजी विद्यालयसँग सहकार्य गर्दै सञ्चालन गर्दै आएको ल्होमीले जानकारी दिए।
कार्यक्रमप्रति प्रतिक्रिया जनाउँदै पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परियोजना सञ्चालन भएका विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव देखिएको बताए। साथै, महानगर शिक्षा समितिका पदाधिकारीहरूले शैक्षिक सुधारको प्रारम्भिक चरणमै परियोजना प्रभावकारी देखिएको प्रतिक्रिया दिएका छन्।
