प्रधानमन्त्री कप : सांग्रिला क्रिकेट क्लब कास्की च्याम्पियन

Share:

पोखरा। प्रधानमन्त्री (पिएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको कास्की जिल्ला स्तरीय उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा सांग्रिलाले कास्की क्रिकेट क्लबलाई ४८ रनले पराजित गर्दै उपाधि चुमेको हो।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सम्पन्न फाइनल खेलमा १६९ रनको लक्ष्य पछ्याएको कास्की ३४.३ ओभरमा १२० रनमै अलआउट हुन पुग्यो। कास्कीका लागि रोहित चन्दले सर्वाधिक ४१ रन जोडे भने विश्वास पराजुलीले २३ रनको योगदान दिए।

सांग्रिलाका बलरहरू प्रभावकारी देखिए। सिव्रिन श्रेष्ठले ३ विकेट लिँदा विपिन खत्री र राज परियारले समान २-२ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सांग्रिला क्रिकेट क्लब ४३ ओभरमा १६८ रनमा अलआउट भयो।

सांग्रिलाका लागि विपिन खत्रीले सर्वाधिक ६४ रन बनाए। यस्तै कुशल नेपालले २० र राजु खनालले १८ रनको योगदान दिए। कास्कीका बलरमध्ये आदित्य थापा र विश्वास पराजुलीले समान ३-३ विकेट लिए भने अनुप पौडेलले २ विकेट हात पारे।

माघ २ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको थियो। समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब सहभागी थिए।

यस्तै समूह ‘बी’ मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छ्रे क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब सहभागी थिए। समूह ‘ए’ बाट सांग्रिला र समूह ‘बी’ बाट कास्की विजेता बन्दै फाइनलमा प्रवेश गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: