
पोखरा । आगामी प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उम्मेदवार रश्मि आचार्यले पोखरा महानगरपालिका वडा नम्बर १७ का टोल-टोल र बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
भेटघाटका क्रममा स्थानीय बासिन्दाले आगामी दिनमा गर्नुपर्ने विकास निर्माण, रोजगारी, शिक्षा र पर्यटनसँग सम्बन्धित विषयमा आफ्ना सुझाव राखेका थिए। योजना सहितको आशालाग्दो र जुझारु युवा उम्मेदवार पाउँदा आफूहरू अत्यन्त उत्साहित भएको स्थानीयको भनाइ थियो।
देशलाई विद्यमान संकटबाट पार लगाउन सक्ने क्षमता र समृद्धिको स्पष्ट दृष्टिकोणसहित उम्मेदवार आचार्य अगाडि आएको भन्दै मतदाताहरूले उनलाई विजयी गराउन आतुर रहेको प्रतिक्रिया दिएका छन्। आफ्नै स्थानीय उम्मेदवार भएकाले आफ्ना समस्या प्रभावकारी रूपमा सम्बोधन हुनेमा विश्वास व्यक्त गरेका छन्।
सो अवसरमा उम्मेदवार आचार्यले जनताका आवश्यकता र समस्याअनुसार नै प्रतिबद्धता तयार पारिने उल्लेख गर्दै नीति निर्माणसहित विकास अभियानलाई थप प्रभावकारी बनाइने बताए। युवा, उत्पीडित र पछाडि पारिएका वर्गको सधैं साथमा रहने उनले प्रतिबद्धता जनाए।
इलम र रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै उनले पोखरा र कास्कीलाई शिक्षा, पर्यटन तथा प्राविधिकमुखी क्षेत्रका रूपमा विकास गर्न आफू केन्द्रित हुने बताए। पर्यटन शिक्षा पोखराको स्थानीय विषयका रूपमा स्थापित गर्नेतर्फ विशेष ध्यान रहने उनको भनाइ थियो।
कसैको पनि शिर निहुरिन नदिने र गौरवपूर्ण विरासतलाई अझ उचो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार आचार्यले आफ्नो जितका लागि जनसाथ नै सबैभन्दा ठूलो शक्ति हुने उल्लेख गरे।
स्थानीय नेता-कार्यकर्ता तथा जनशक्तिसँगै जनसाक्षात्कार अभियानलाई तीव्र बनाएकी आचार्यले प्रतिबद्धता र योजनाको निर्माण मात्र होइन, कार्यान्वयन पनि जनताको साथमै गरिने स्पष्ट पारे।
