विदेश पठाइदिन्छु भन्दै साढे १४ लाखभन्दा बढी ठगी गर्ने २ जना पक्राउ

Share:

पोखरा । विदेशमा रोजगारीको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सामाजिक सञ्जाल फेसबुकमार्फत कुराकानी गरी आफू कानून व्यवसायी भएको श्रीमान् पोल्याण्डमा होटल सञ्चालन गरिरहेको र विदेशमा होटल तथा विभिन्न कम्पनीमा नेपाली कामदारको माग रहेको भन्दै विश्वास दिलाई ठगी गरिएको हो।

आरोपीहरूले किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायतका पदमा विदेश पठाइदिने आश्वासन दिँदै ११ जनाबाट १० हजारदेखि २ लाख रुपैयाँसम्म रकम उठाई जम्मा १४ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।

उक्त घटनासम्बन्धी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौर बस्ने वर्ष ३४ की कल्पना नहर्की पौडेल र घटनामा संलग्न जिल्ला मुगु खप्तड गाउँपालिका वडा नम्बर ११ स्थायी वतन भई हाल पोखरा महानगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २८ का बिरेन्द्र रावतलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई सम्मानित कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीप्रति सचेत रहन र शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: