
पोखरा। राष्ट्रिय खेलकुदलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित पश्चिम पृतनामा नेपाली सेनाको अग्रसरतामा खेलकुद विकाससम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ। “नेपाली सेनाको खेलकुद विकासलाई स्तर अभिवृद्धि गर्न अपनाउनु पर्ने उपाय” विषयमा आयोजित गोष्ठीले नेपालको खेलकुदलाई व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन नीतिगत सुधार, पूर्वाधार विकास तथा दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
गोष्ठीमा सहभागी विज्ञ तथा सरोकारवालाहरूले खेलकुद क्षेत्रको विकासमा राजनीतिक हस्तक्षेप, कोटा प्रणाली, दक्ष प्रशिक्षकको अभाव तथा कमजोर पूर्वाधार मुख्य चुनौतीका रूपमा रहेको औँल्याएका थिए। यी चुनौती समाधान नगरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न कठिन हुने धारणा सहभागीहरूको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले गोष्ठीबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै नीतिगत विषयमा सम्बन्धित निकायसँग आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली सेनाले खेलकुद क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई थप प्रभावकारी बनाउँदै लैजाने समेत बताए।
गोष्ठीमा नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै एसियन तथा ओलम्पिक स्तरका पदक लक्ष्यसहित थप लगानी गर्नुपर्नेमा जोड दिइयो।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य डा. मधुसूदन सुवेदीले “राष्ट्रिय खेलकुदको विकासका लागि राष्ट्रिय खेलकुद परिषदको नीति तथा कार्यक्रम” विषयमा प्रस्तुति दिएका थिए। त्यस्तै, नेशनल ओलम्पिक एकेडेमीका अध्यक्ष तेज गुरुङले “ओलम्पिक अभियान, नेपाली खेलकुद र नेपाली सेना” र पश्चिम पृतना हेडक्वाटरका सेनानी हुमान सिंह कुँवरले “नेपाली खेलकुदको विकासमा नेपाली सेनाको योगदान तथा वर्तमान अवस्था” विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।
गोष्ठीमा खेलकुद क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व, प्रशिक्षक, खेलाडी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता छलफलले नेपाली खेलकुदको दीर्घकालीन रणनीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
