
पोखरा। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै दिगो आर्थिक विकासलाई अघि बढाउने उद्देश्यले पोखरा महानगरपालिका र एसियाली विकास बैङ्क (एडिबी) बीच जलवायु उत्थानशील तथा हरित वित्त लगानी कार्यक्रम सम्बन्धी महत्वपूर्ण छलफल भएको छ। जापान सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने “Green and Resilient Finance Investment Program (GRFIP)” अन्तर्गत भएको छलफलमा पोखरामा कृषि र पर्यटन क्षेत्रमा हरित तथा उत्थानशील लगानी विस्तार गर्ने विषयमा विशेष जोड दिइएको थियो।
छलफलका क्रममा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले महानगरको कृषि रणनीति र पर्यटन विकासका प्राथमिकताबारे जानकारी गराउँदै उक्त कार्यक्रममा सहकार्य गर्न महानगर पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे। पोखरामा कृषि तथा पर्यटन विकासका व्यापक सम्भावना रहेको उल्लेख गर्दै उनले विकास साझेदारहरूसँगको सहकार्यमा यी क्षेत्रलाई नतिजामुखी बनाउन सकिने धारणा राखे।
एडिबीका कन्ट्री अपरेसन हेड आर्नो हेकम्यानले पोखराको आर्थिक वृद्धिका लागि निजी क्षेत्र, सहकारी तथा साना तथा मझौला उद्योगसँग सहकार्य गर्दै जलवायु जोखिम न्यूनीकरण र हरित रोजगारी सिर्जनामा एडिबी प्रतिबद्ध रहेको बताए।
त्यस्तै, महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले महानगर क्षेत्रमा प्रशस्त कृषियोग्य भूमि रहेको उल्लेख गर्दै उत्पादन, उपभोग र बजारीकरणलाई जोड्ने मूल्यश्रृंखला विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमले अनुदान, सहुलियतपूर्ण ऋण तथा निजी पुँजीको संयोजनमार्फत स्थानीय आर्थिक क्षमतालाई उजागर गर्ने लक्ष्य राखेको छ। साथै, नेपालको राष्ट्रिय अनुकूलन योजना तथा स्थानीय अनुकूलन कार्ययोजनासँग समन्वय गर्दै पोखराको कृषि रणनीति र विकास प्राथमिकतामा सहकार्य गरिने जनाइएको छ।
कृषि व्यवसाय र पारिस्थितिक पर्यटनलाई प्राथमिकतामा राख्दै स्थानीय पूर्वाधार विकास र नवप्रवर्तनमा लगानी गर्ने यो कार्यक्रमले पोखरालाई वातावरणमैत्री, उत्थानशील र आर्थिक रूपमा सबल सहर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
