चाउथेमा एमालेको सम्पर्क कार्यालय: जेनजीको हातबाट उद्घाटन, नयाँ पुस्तालाई राजनीतिमा जोड्ने सन्देश

Share:

पोखरा। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले कास्की क्षेत्र नं. १ को निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालय स्थापना गरेको छ। पोखरा महानगरपालिका-१४ चाउथेमा बुधबार आयोजित कार्यक्रममा उक्त कार्यालयको उद्घाटन गरिएको हो।

कार्यालय उद्घाटनको दृश्य भने अरूभन्दा फरक र अर्थपूर्ण बन्यो। उद्घाटनका लागि पार्टीका केन्द्रीय सचिव खगराज अधिकारीलाई अगाडि सारिएको भए पनि रिबन काट्न हातमा कैंची लिएपछि उनले कार्यक्रममै प्रश्न गरे, “यहाँ जेनजी पुस्ताको को हुनुहुन्छ?”

त्यसपछि कास्कीको रुपा गाउँपालिकाका २६ वर्षीय आदर्श सुवेदी अगाडि आए। “बाबु, जेनजी होइन?” भन्ने अधिकारीको प्रश्नमा केही क्षण अक्मकिए पनि सुवेदीले ‘हो’ भन्दै जवाफ दिए। त्यसलगत्तै केन्द्रीय सचिव अधिकारीले उनलाई नै कार्यालय उद्घाटन गर्न आग्रह गरे। यसरी जेनजी प्रतिनिधि आदर्श सुवेदीको हातबाट एमाले कास्की-१ को चुनावी सम्पर्क कार्यालय उद्घाटन भयो।

कार्यक्रममा बोल्दै सचिव अधिकारीले विभिन्न भ्रम फैलाउँदै पार्टीविरुद्ध दुष्प्रचार गर्ने प्रयास भइरहेको उल्लेख गरे। भ्रष्टाचार गर्ने जो-कोहीलाई कारबाही गर्ने र नवपुस्ताले उठाएका मागहरू सम्बोधन गर्न एमाले दृढ रहेको उनको भनाइ थियो।

उनले एमालेका उम्मेदवार कसैलाई गाली नगरी आफ्ना नीति, विचार र योजनासहित जनताकहाँ जाने रणनीतिमा रहेको बताए। मादी र रुपाका गाउँ-गाउँमा काममार्फत एमालेले उपस्थिति देखाइसकेको र जनताले एमालेबाहेक अरूलाई विश्वास नगर्ने दाबी पनि गरे।

कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले फागुन २१ गतेको निर्वाचन देशको सार्वभौमसत्ता र राष्ट्रियता जोगाउने कि नजोगाउने भन्ने निर्णायक बिन्दुसँग जोडिएको बताए। नवपुस्ताले उठाएका मुद्दाप्रति एमाले सकारात्मक रहेको उल्लेख गर्दै उनले राजनीति जनताको समृद्धि र आयस्तर वृद्धिसँग जोड्न चाहेको स्पष्ट पारे।

“हामी राजनीतिलाई जनताको समृद्धिसँग जोड्न चाहन्छौं,” उनले भने, “जनताको आयस्तर बढाउने कुरासँग राजनीतिलाई जोड्दै विकास निर्माणमा विशेष ध्यान दिएका छौं।” विगतमा गरेका काम र कास्की-१ को भूगोलमा निरन्तर सक्रियताकै आधारमा मतदाताले आफूलाई विजयी गराउने विश्वास उम्मेदवार अधिकारीले व्यक्त गरे।

 

कमेन्ट गर्नुहोस्
Share: