‘दिगो’ फुटवेयरको सोरुम उद्घाटन: पोखरामै बनेको जुत्ता, अब पृथ्वीचोकमा किन्न पाइने

Share:

पोखरा । पोखरामै उद्योग स्थापना गरी अन्तर्राष्ट्रिय गुणस्तरका जुत्ता-चप्पल उत्पादन गर्दै आएको दिगो फुटवेयर इन्डष्ट्रिजका उत्पादनहरूको सोरुम पोखराको व्यस्त क्षेत्र पृथ्वीचोकमा सञ्चालनमा आएको छ।

बुधबार आयोजित समारोहबीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सोरुमको औपचारिक उद्घाटन गरेका हुन्। पोखराका युवाहरु हरिप्रसाद भण्डारी र राजेश भण्डारीले पोखरा-पस्र्याङमा उद्योग स्थापना गरी स्वदेशमै गुणस्तरीय फुटवेयर उत्पादन गर्दै आएका छन्।

उद्योगका प्रबन्ध सञ्चालक हरिप्रसाद भण्डारीका अनुसार “स्वदेशमै केही गरौँ र रोजगारी सिर्जना गरौँ” भन्ने सोचका साथ जुत्ता उद्योग सुरु गरिएको हो। उनले दिगोका उत्पादनहरू गुणस्तरमा कुनै सम्झौता नगरी नेपालीको खुट्टा सुहाउँदो र किफायती मूल्यमा उपलब्ध गराइएको बताए।

अर्का सञ्चालक राजेश भण्डारीले पृथ्वीचोकजस्तो व्यस्त र महँगो स्थानमा सोरुम सञ्चालन गरिएकाले उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै दिगोका उत्पादनसँगै अन्य कम्पनीका केही सामानहरू पनि राखिएको जानकारी दिए।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अर्काको उत्पादन बेचेर व्यक्तिगत रूपमा धनी बन्न सकिए पनि त्यसले राष्ट्रको अर्थतन्त्रमा योगदान नपुग्ने उल्लेख गरे। उनले स्वदेशमै उत्पादन बढाउन र स्वदेशी कच्चा पदार्थको समुचित उपयोगमा जोड दिन युवाहरुलाई आग्रह गरे।

काँचो छाला संकलन र बिक्रीका लागि विगतमा राज्यस्तरबाट गरिएका प्रयासलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याउँदै कार्कीले कृषिलाई पर्यटनसँग जोड्न सके पोखराको आर्थिक अवस्था मजबुत हुने र रोजगारीका अवसर समेत वृद्धि हुने धारणा राखे।

कार्यक्रममा जुत्ता व्यवसायी संघका संस्थापक अध्यक्ष पवित्रबहादुर नेपाली, कपडा व्यवसायी संघका अध्यक्ष लेखनाथ पौडेल, कपडा व्यवसायी संघका पूर्व अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनालगायतले स्वदेशी उद्योग प्रवर्द्धनको आवश्यकता औंल्याउँदै शुभकामना व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: