पोखरा-३३ मा एमालेको निर्वाचन कार्यालय शुभारम्भ, जेन्जी युवाको सक्रिय सहभागिता

Share:

पोखरा । पहिलो मतदाता तथा जेन्जी युवाहरूले नेकपा एमाले पोखरा महानगरपालिका-३३ को निर्वाचन कार्यालय शुभारम्भ गरेका छन्। निर्वाचन कार्यालय उद्घाटन कार्यक्रममा सहभागी युवाहरूले कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार रश्मि आचार्यको जन्मथलो पोखरा-३३ भरतपोखरीबाट चुनावी अभियान सुरु हुनु गौरवको विषय भएको बताएका छन्।

उनीहरूले उम्मेदवार आचार्यले अहिलेसम्म कुनै पनि विश्वासघात नगरेको उल्लेख गर्दै अबको नेतृत्वका लागि योग्य उम्मेदवार भएकाले अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता जनाए। कार्यक्रममा युवाहरूले रश्मि आचार्यको उम्मेदवारी साझा र गौरव गर्न लायक भएको प्रतिक्रिया दिँदै राष्ट्रको नेतृत्व गर्ने क्षमतावान व्यक्तित्वका रूपमा प्रस्तुत गरे।

सो अवसरमा उम्मेदवार आचार्यले जेन्जी आन्दोलनको मूल मर्म सुशासन र भ्रष्टाचारको अन्त्य भएको उल्लेख गर्दै यही एजेन्डा आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। देशको समृद्धिका लागि सुशासन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले हुर्केको गृहभूमिबाट प्राप्त माया, सद्भावना र समर्थनले आफूलाई थप उत्साहित बनाएको बताए।

‘तपाईंहरूको आवश्यकता, चाहना र मागकै आधारमा उम्मेदवारी दिएको हुँ,’ आचार्यले भने, ‘अहिलेसम्म कुनै दाग लाग्ने काम गरेको छैन र भविष्यमा पनि गर्ने छैन। सबैको शिर उँचो बनाउने गरी काम गर्नेछु।’ एमालेका पूर्व केन्द्रीय कमिटी सदस्य भीम कार्कीले पोखरा-३३ पटक-पटक नेतृत्व उत्पादन गर्दै आएको क्षेत्र भएको उल्लेख गर्दै यो निर्वाचन केवल रश्मि आचार्यको मात्र नभई राष्ट्रको नेतृत्व चयन गर्ने ऐतिहासिक अवसर भएको बताए। उनले एमालेका तर्फबाट उठाइएको उम्मेदवारी राष्ट्रकै उम्मेदवारी भएको दाबी गरे।

कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटी लेखा आयोगका अध्यक्ष बैकुण्ठनाथ आचार्य, गण्डकी प्रदेश कमिटीका पूर्व सचिवालय सदस्य केशवप्रसाद आचार्य, प्रदेश कमिटी सचिवालय सदस्य तेजनारायण अधिकारी, जिल्ला कमिटी सदस्य बसन्तराज आचार्य, पूर्व वडाध्यक्ष शिवप्रसाद आचार्य, पोखरा महानगर कमिटी सदस्य जीवनप्रसाद आचार्यलगायतको सहभागिता रहेको थियो। वडा कमिटी अध्यक्ष टुकराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पोखरा महानगर कमिटी सदस्य दिपक लामिछानेले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: