जानकी माविको ४८ वर्षे यात्रा: सपनाको बीउ रोपेर भरोसाको रूख हुर्काउँदै

Share:

पोखरा । पोखरा महानगरपालिका-१७, महतगौडास्थित जानकी माध्यमिक विद्यालयको परिसर शुक्रबार उत्सवमय बनेको थियो। साना नानीदेखि सेतै फुलेका अभिभावकसम्म एउटै आँगनमा भेला भएका थिए। सबैको आँखामा एउटै भाव झल्किन्थ्यो-विद्यालयप्रतिको गर्व, माया र गुणस्तरीय शिक्षाप्रतिको साझा प्रतिबद्धता।

विद्यालयको ४८औँ वार्षिकोत्सवका अवसरमा परिसर ध्वजापताकाले सजिएको थियो। कहिले शिक्षकको हात समातेर अक्षर चिन्ने विद्यार्थीहरू आज मञ्चमा गीत, नृत्य र मन्तव्य प्रस्तुत गरिरहेका थिए। उनीहरूको हाँसो र तालीको गुञ्जनले विद्यालयका संस्थापकदेखि अतिथिसम्मलाई भावुक बनाएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रमुख अक्षयकोषदाता एवं वडा नं. १७ का जनप्रतिनिधि शिवराम भण्डारीले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई जीवन परिवर्तन गर्ने शक्ति भएको उल्लेख गरे। उनले सामुदायिक विद्यालयको सर्वाङ्गीण विकासका लागि वडास्तरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयको विकासमा योगदान पुर्‍याउने पोखरा-१७ का लिलकाजी गुरुङ, व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नगेन्द्र गुरुङ, प्रधानाध्यापक अर्जुन कँडेल, लेखापाल अमित वानिया, सितापाइला आमा समूह, इक्रा फाउण्डेशनलगायत विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

यसै अवसरमा स्थानीय जागरण आमा समूहले तिहारमा भैलो खेलेर संकलन गरेको ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्दै उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलालाई हस्तान्तरण गरेको थियो।

कार्यक्रममा बोल्दै पार्दी मावि व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण श्रेष्ठले सामुदायिक विद्यालय सञ्चालनमा आर्थिक अभाव प्रमुख चुनौती भएको उल्लेख गर्दै सम्बन्धित निकायबाट थप सहयोग आवश्यक रहेको बताए।

अक्षयकोषदाता तथा सामाजिक व्यक्तित्व विरेन्द्रनारायण विज्छेले सामुदायिक विद्यालयले भौतिक संरचनाभन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले सामुदायिक विद्यालय समाजको भविष्य निर्माण गर्ने आधारशिला भएको बताउँदै शिक्षा सचेत, सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने माध्यम भएको स्पष्ट पारे।

उनले विद्यालय व्यवस्थापन समिति केवल औपचारिक संरचना नभई शैक्षिक गुणस्तर सुधार, पूर्वाधार विकास, शिक्षक मनोबल अभिवृद्धि र विद्यार्थीको सर्वाङ्गीण विकासको मार्गदर्शक निकाय भएको उल्लेख गरे।

पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा विद्यालय परिसरमा सञ्चालन गरिएको अटिजम कक्षा यसै शैक्षिक वर्षदेखि सुरु भएको जानकारी दिँदै उनले यो गण्डकी प्रदेशकै सरकारी तहबाट सञ्चालनमा आएको पहिलो कक्षा हुनसक्ने बताए। हाल उक्त कक्षामा ४० जना विद्यार्थी अध्ययनरत छन्।

कार्यक्रममा कक्षागत तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो भने अटिजम कक्षाका विद्यार्थी र अभिभावकलाई पनि सम्मान गरिएको थियो।

विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुति, सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा शिक्षक-अभिभावक संघका अध्यक्ष विक्रम बाबु भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक तुलसी गिरीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: