कास्कीमा विकास निर्माणको अर्धवार्षिक समीक्षा, कार्यसम्पादन सुधारमा जोड

Share:

पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणसम्बन्धी कार्यालयहरूको चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कार्यक्रमको उद्घाटन गर्दै विगतको कार्यसम्पादनको अवस्थाको मूल्याङ्कन र आगामी कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले नियमित कार्यतालिका अनुसार समीक्षा आयोजना गरिएको बताए।

प्रमुख पौडेलले विकास निर्माणमा देखिएका अवरोध हटाउन र कार्यसम्पादनको गुणस्तर सुधार गर्न समीक्षा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे। उनले निरन्तर हुने समीक्षाले कमी-कमजोरी पहिचान गरी सुधार गर्न सहयोग पुग्ने उल्लेख गर्दै सरोकारवाला कार्यालयहरूलाई विगतका कमजोरी सच्याउँदै सबल कार्यसम्पादनमा ध्यान दिन आग्रह गरे।

कार्यक्रममा काम, क्रियाकलाप, जिम्मेवारी, कार्यसम्पादनको अवस्था र गुणस्तर लगायतका विषयमा १५ वटा कार्यालयहरूले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए। समीक्षामा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड), संघीय आयोजना कार्यान्वयन इकाई सडक डिभिजन कार्यालय, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, डिभिजन वन कार्यालय, जलस्रोत तथा सिँचाइ विकास कार्यालय कास्की, पूर्वाधार विकास कार्यालय गण्डकी, नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र, नेपाल टेलिकम, पोखरा शहरी विकास तथा भवन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पुल सेक्टर लगायतका निकायहरूले आफ्नो कार्यप्रगति सार्वजनिक गरेका हुन्।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सदस्य सितादेवी विश्वकर्माले राखेकी थिइन् भने सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: