
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ। लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो।
यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन्। आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा राखेको छ।
आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले ती सामग्रीका आधारमा सरकारी र नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिले नागरिक शिक्षा प्रवर्द्धन गर्न सक्नेछन्। फागुन १ गतेदेखि मतदाता शिक्षाको कार्यक्रमलाई तीव्रता दिने आयोगको तयारी छ। यस्तै, निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा पत्रचार गरेको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका-१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकमका अध्यक्ष/सम्पादक रबिनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईंले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट उम्मेदवारका प्रचारप्रसारका सामग्री निरन्तर पोष्ट गरेको भनी आयोगमा उजुरी परेपछि प्रेस काउन्सिल नेपाललाई कानुनी कारबाहीका लेखी पठाएको हो।
उजुरीअनुसार यसमा प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गर्न काउन्सिलमा पठाइएको आयोगले जनाएको छ। आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) को प्रतिकूल हुने गरी उम्मेदवारका प्रचारप्रसार सामग्री निरन्तर पोष्ट गरेको भनी उजुरी परेकाले काउन्सिलमा लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए।
यसैगरी गोरखापत्र संस्थानले मधेस र बाग्मती प्रदेशका संयोजक हटाएको विषयमा परेको उजुरीका आधारमा पनि स्पष्टीकरण सोधिएको उनले जानकारी दिए। आयोगले संस्थानलाई यस विषयमा दुई दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको जनाएको छ।
