
पोखरा। पोखराको बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयमा आयोजित सप्ताहव्यापी ‘प्रगति साहित्य उत्सव’ शुक्रबार सम्पन्न भएको छ। विद्यालयको ३६औँ वार्षिकोत्सवको अवसरमा माघ २४ गतेदेखि सुरु भएको उत्सव साहित्य, संस्कृति र सिर्जनशीलतालाई विद्यार्थी तथा अभिभावकसम्म पुर्याउने उद्देश्यसहित आयोजना गरिएको थियो।
विद्यालयका निर्देशक तथा कवि दिनेश श्रेष्ठका अनुसार उत्सव सिनियर र जुनियर गरी दुई सेसनमा सञ्चालन गरिएको थियो। प्रारम्भिक बाल्यकाल विकास सेसनमा पिताम्बर न्यौपानेसँग अरुणा बरालले संवाद गरिन् भने साहित्यकार अनुराधा शर्मासँग विद्यार्थी अन्तरक्रिया यमुना गुरुङले सहजीकरण गरिन्।
बालबालिकामा देखिने मानसिक समस्याबारे डा. फणिन्द्रप्रसाद पौडेलले प्रवचन दिएका थिए, जसको सहजीकरण पुष्प पौडेलले गरेका थिए। समापनको दिन ‘किन र कसरी पढ्ने ?’ विषयमा कवि तीर्थ श्रेष्ठले विद्यार्थीलाई आफ्ना अध्ययन अनुभव सुनाए। उक्त सेसनमा अनिता बस्नेतले अध्ययनका क्रममा विद्यार्थीमा देखिने समस्या र समाधानका उपायबारे संवाद गरिन्।
अर्को सेसनमा अभिनेता तथा रंगकर्मी प्रकाश घिमिरेले कला र अभिनयका विविध पक्षबारे जानकारी दिए। नाट्यकर्म र जीवनका अनुभूतिबारे राजु थापासँग प्यानल छलफलसमेत गरिएको थियो।
साहित्यकार सरुभक्तसँग बाल साहित्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। मीना भण्डारीले सहजीकरण गरेको कार्यक्रममा सरुभक्तले बाल साहित्य लेखनका अनुभव सुनाउँदै साहित्यको अर्थ, धैर्य र पुस्तान्तरणीय मूल्यबारे बहस गरेका थिए।
शिक्षा सम्बन्धी विषयमा दीनेश अर्यालको सहजीकरणमा प्राध्यापक डा. कपिल अधिकारीले विद्वत प्रवचन दिएका थिए।उत्सवअन्तर्गत कविता वाचन, साहित्यिक विचार विमर्श, लोकनृत्य प्रस्तुति, चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको विद्यालयका सूचना अधिकारी जयराम पौडेलले जानकारी दिए। विद्यार्थीले निर्माण गरेका चित्रकला, हस्तकला र शैक्षिक सामग्रीसमेत प्रदर्शनीमा राखिएको थियो।
कार्यक्रमको समापन गर्दै सरुभक्तले साहित्य सिर्जना अन्तःकरणको उपज भएको बताए भने प्रधानाध्यापक महेन्द्र थापाले उत्सवले विद्यार्थीलाई साहित्य र रंगमञ्चका विविध आयाम बुझ्न अवसर दिएको उल्लेख गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बाँनियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सुमन कार्की र विनया शर्माले गरेका थिए।
सूचना अधिकारी पौडेलका अनुसार विद्यालयले अब हरेक महिना कक्षागत रूपमा विद्यार्थी प्रतिभा अभिभावकमाझ प्रस्तुत गर्ने र वार्षिक उत्सवलाई विधागत रूपमा फरक-फरक सिर्जनात्मक कार्यक्रममार्फत मनाउने योजना बनाएको छ। गत वर्ष विद्यालयले नाटक महोत्सव आयोजना गरेको थियो।

