‘भूमिहीनको समस्या अब पूर्ण रूपमा समाधान गर्छौँ’ : रश्मि आचार्य

Share:

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार रश्मि आचार्यले भूमिहीन र सुकुम्बासी नागरिकको समस्या समाधानलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्।

पोखरा-१५ मा आयोजित कार्यक्रममा बोल्दै आचार्यले आफू निर्वाचित भएपछि भूमिहीन नागरिकको जमिन र आवासमाथिको नैसर्गिक अधिकार सुनिश्चित गर्न संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

“भूमिहीनको समस्या एमालेले पहिचान गरिसकेको छ, अब यसलाई पूर्ण रूपमा व्यवस्थित समाधान गर्ने जिम्मा पनि हामी लिन्छौँ,” उनले भने। कास्की जिल्लामा करिब ९ हजार भूमिहीन तथा सुकुम्बासी नागरिक भूमि र आवासको अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै उनले यसको दिगो समाधानका लागि कानुनी तथा नीतिगत पहल गर्ने बताए।

उनका अनुसार भूमि र आवास प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो र कसैलाई पनि यसबाट वञ्चित गर्न नहुने स्पष्ट धारणा एमालेको रहेको छ। आचार्यले सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणलाई पनि आफ्नो पहिलो प्राथमिकता बनाउने बताए। आवश्यक परे कानुन संशोधनसम्मका पहल गर्ने उनको भनाइ छ।

“जनताको पक्षमा दृढ रूपमा उभिन्छु, पारदर्शी शासन प्रणाली स्थापना गर्छु,” उनले भने, “जनताले दिएको मतको सम्मान गर्दै विश्वासमा धोका दिने छैनु, जनताको शिर निहुरिन दिने छैनु।”

उनले विकासलाई समान र सन्तुलित रूपमा अगाडि बढाइने उल्लेख गर्दै जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा बजेट विनियोजन गरिने बताए। विशेषगरी पिछडिएका बस्तीमा तारजाली बाटो, आधारभूत पूर्वाधार र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजनालाई प्राथमिकता दिइने उनको भनाइ छ।

स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्दै समग्र कास्कीको विकासलाई तीव्रता दिने प्रतिबद्धता पनि उनले जनाए। साथै प्रत्येक ६/६ महिनामा वडास्तरमै पुगेर नागरिकका गुनासा सुन्ने र समाधानका लागि पहल गर्ने उनले घोषणा गरे।

भूमिहीनको अधिकारदेखि सुशासन र सन्तुलित विकाससम्मका एजेन्डासहित उम्मेदवार आचार्यले कास्की-२ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: