धन बहादुर गुरुङ साँझ २०८२ को तयारी अन्तिम चरणमा

Share:

पोखरा । पोखरा रंगशालामा फागुन ८ गते आयोजना हुने ‘धन बहादुर गुरुङ साँझ २०८२’ को तयारी ९५ प्रतिशत पूरा भएको आयोजकले जनाएको छ। तमु (गुरुङ ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा हुने कार्यक्रम गायक धनबहादुर गुरुङको सम्मान तथा ‘तमु (गुरुङ ) कलाकार कल्याणकारी कोष’ स्थापनाार्थ आयोजना गरिएको हो।

आयोजकका अध्यक्ष विक्रम गुरुङका अनुसार वि.सं. २०४५ देखि हालसम्मका स्रष्टा गुरुङका चर्चित तथा कालजयी गीतहरू सांगीतिक साँझमा गुञ्जनेछन्। ५ हजारभन्दा बढी गीतमा स्वर, शब्द र संगीत दिएर नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका गुरुङलाई नगद १ लाख ५१ हजार रुपैयाँ र सम्मानपत्रसहित विशेष सम्मान गरिने कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी दिए।

‘ताबतिबैको मेलैमा’, ‘आयादो ठागु’, ‘माया पिरती’, ‘छ्याँबाह्रानी बोल्स्यो’, ‘खो रिमै थुमै’, ‘ख्वालबै माया’, ‘क्यदे थुलेन दुख मुना’, ‘बर्खे खजे’ लगायत उनका चर्चित गीतहरू कार्यक्रममा प्रस्तुत गरिनेछन्।

सांगीतिक साँझमा भारत सिक्किमका पूर्व मन्त्री तथा संघ सिक्किमका पूर्वअध्यक्ष गर्जमान गुरुङको विशिष्ट आतिथ्यता रहनेछ। विष्णु गुरुङ, उमा गुरुङ, माया गुरुङ, रोशन गुरुङ, डबिन गुरुङ, राजबहादुर गुरुङ लगायतका स्थापित कलाकारहरूले स्रष्टा गुरुङलाई साथ दिनेछन्।

त्यसैगरी हिमाली सांस्कृतिक परिवार, तरेली सांस्कृतिक परिवार, तमु प्हे प्हु संघ केन्द्रीय युवा समिति, अनुशीलन कला पाठशाला, तमु धिं केन्द्रीय युवा समिति, नेपाल तमु (गुरुब) विद्यार्थी छोंज धिं र नाल्मा गाउँ, लमजुङलगायत विभिन्न संघ–संस्थाहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।

४० लाख आम्दानी लक्ष्य

कार्यक्रम सफल बनाउन हालसम्म करिब ३३ लाख ७ सय ५५ रुपैयाँ संकलन भइसकेको संयोजक गुरुङले बताए। कार्यक्रम सम्पन्न हुँदासम्म ४० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। त्यसबाट १५ देखि २० लाख रुपैयाँ बचत हुने लक्ष्य राखिएको छ, जुन कलाकारहरूको हितका लागि कल्याणकारी कोषमा जम्मा गरिनेछ।

संस्थाका उपाध्यक्ष टसबहादुर गुरुङका अनुसार ८ हजार २ सय ८३ थान टिकट बिक्रीका लागि बजारमा पठाइसकिएको छ। कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा र काठमाडौँबाट समेत उल्लेख्य दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ।

निःशुल्क बस सेवा

टाढाबाट आउने दर्शकहरूको सुविधाका लागि कार्यक्रम स्थलबाट काहुँखोला, छोरेपाटन, सैनिकबस्ती लेखनाथ र लामाचौर हुँदै महेन्द्र गुफासम्म निःशुल्क बस सेवाको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय (गण्डकी), पर्यटन तथा उद्योग मन्त्रालय (गण्डकी) र गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रवर्द्धनमा तथा नाल्मा तमु समाज पोखराको मुख्य सहकार्यमा आयोजना हुन लागेको हो।

सांगीतिक श्रद्धाञ्जली र सामूहिक एकताको भावनासहित आयोजना हुन लागेको ‘धन बहादुर गुरुङ साँझ २०८२’ पोखरामा सांस्कृतिक उत्सवकै रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: