
पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कास्कीमा चुनावी तयारी तीव्र बनाइएको छ । उम्मेदवारले अनिवार्य रूपमा बैंक खाता खोलेर सोही खातामार्फत मात्रै खर्च गर्नुपर्ने व्यवस्थाअनुसार हालसम्म ४९ जना उम्मेदवारमध्ये ४३ जनाले खाता खोल्न सिफारिस लिइसकेका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ स्थापना दिवसका अवसरमा पोखरामा आयोजित ‘निर्वाचन आचारसंहिता र सञ्चार’ विषयक अन्तरक्रियामा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले कास्कीका ७२ वटै वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । उनका अनुसार फागुन १० देखि १२ गतेसम्म मतदान अधिकृतहरूलाई तालिम प्रदान गरिनेछ ।
ढकालले निर्वाचनका लागि आवश्यक ५२ प्रकारका सामग्रीमध्ये ५१ प्रकार कार्यालयमा आइसकेको बताए । मतपत्रमुनि राखिने प्याड भने यसपालि प्राप्त नभएको उनले जानकारी दिए । हाल ३ सय ६३ मतदान केन्द्रका लागि सामग्री वर्गीकरण गर्ने कार्य जारी छ ।
कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले निर्वाचन आयोगले विकास गरेको वर्तमान प्रणालीले धाँधलीको सम्भावना अन्त्य गरेको दाबी गरे । “पहिले एकजनाको नाममा अर्कोले मतदान गर्ने अवस्था थियो, तर अहिले फोटोसहितको मतदाता परिचयपत्र र नामावलीका कारण त्यो सम्भावना समाप्त भएको छ,” उनले भने, “कर्मचारी बेइमान भए पनि उम्मेदवारका प्रतिनिधिले खबरदारी गर्छन् । सिस्टम ठीक छ भने कसैले केही बिगार्न सक्दैन ।”
उनले निर्वाचनमा खटिने कर्मचारी छनोटमा विशेष सतर्कता अपनाइएको र राजनीतिक दलका ट्रेड युनियनका पदाधिकारीलाई नखटाइने स्पष्ट पारे । स्वच्छ र निष्पक्ष निर्वाचन गराउनु आफ्नो प्रतिबद्धता भएको उल्लेख गर्दै उनले गलत व्यक्ति संसद् पुगे त्यसको असर सबैले भोग्नुपर्ने बताए ।
प्रदेश निर्वाचन अधिकारी ढकालले फागुन ७ गते मनाइने निर्वाचन दिवसलाई प्रजातन्त्र दिवससँगै मनाउने तयारी भइरहेको बताए । सो अवसरमा जिल्ला समन्वय समितिको नेतृत्वमा कैदीबन्दीलाई फलफूल वितरण कार्यक्रम गरिनेछ ।
आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिँदै उनले भने, “दलको झन्डा बोकेको वा प्रचारमा लागेको प्रमाण भेटिए तत्काल पदबाट निष्कासन गरी कारबाही हुन्छ, कुनै मोलाहिजा हुँदैन ।”
कास्कीमा ३ लाखभन्दा बढी मतदाता
निर्वाचन कार्यालयका अनुसार कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन् । क्षेत्र नं. १ : १,१६,८७८, क्षेत्र नं. २ : ८४,१३४ र क्षेत्र नं. ३ : १,०८,५७२ छन् । जिल्लामा १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्र तोकिएका छन् ।
देशभर भने १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन् । जसमध्ये ९२ लाख ४० हजार १ सय ३१ महिला र ९६ लाख ६३ हजार ३ सय ८५ पुरुष छन् । देशभर १० हजार १ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् । यसपटक अस्थायी मतदान केन्द्रमार्फत कैदीबन्दी तथा निर्वाचनमा खटिएका कर्मचारीले पनि समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।
