
पोखरा । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर पोखरा महानगरपालिका-१९, लामाचौरमा आयोजित वृहत रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन गरिएको छ। अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा सम्पन्न २६ औँ संस्करणको उक्त कार्यक्रम मानवीय सेवाको उत्कृष्ट उदाहरण बनेको छ।
कार्यक्रमको उद्घाटन पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले संयुक्त रूपमा रक्तदाता नविन भण्डारी र बुद्धीबहादुर खत्री क्षेत्रीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै गरेका थिए।
उद्घाटनपछि बोल्दै वडाध्यक्ष पाण्डेले स्वस्थ व्यक्तिले स्वेच्छाले गरेको रक्तदानले बिरामीलाई नयाँ जीवन दिने उल्लेख गरे। वडाध्यक्ष तिमिल्सिनाले रक्तदानलाई मानव जीवनकै सबैभन्दा पुण्य कार्यको संज्ञा दिँदै संस्थाको मानवीय सेवाप्रतिको समर्पणको प्रशंसा गरे।
प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका महेन्द्र केसीले प्रत्येक तीन/तीन महिनामा रक्तदान गर्दा शरीर स्वस्थ रहने वैज्ञानिक तथ्य प्रस्तुत गरे। कार्यक्रममा समाजका पूर्व अध्यक्ष नविन भण्डारीलाई २५ औँ पटकसम्म नियमित रक्तदान गरेकोमा विशेष सम्मान गरिएको थियो। साथै, आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको सहसचिव राजकुमार पौडेलले जानकारी दिए।
समाजका अध्यक्ष इन्जिनियर दिनेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले गरेका थिए भने सञ्चालन सचिव शोभा बाँनियाले गरेकी थिइन्।
प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा एल.सी. ब्रदर्स युनाइटेड, युवा रेडक्रस सर्कल गण्डकी मावि, जुनियर रेडक्रस सर्कल इन्द्रराज्यलक्ष्मी मावि तथा अनुग्रहको सत्सङ्ग लामाचौरको सहकार्य रहेको थियो।
समाजले निरन्तर रुपमा गर्दै आएको रक्तदान कार्यक्रमले समुदायमा मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बनाएको आयोजकले बताएका छन्।
