
रञ्जन अधिकारी पोखरा, २३ कात्र्तिक । नेपाल जेरियाट्रिक सोसाईटी कास्कीले पोखरामा सोमबारदेखि जेरियाट्रिक उपचार सेवा आरम्भ गरेको छ । आयुर्वेदको चिकित्सा बिधामा बिभिन्न प्रकारका आविष्कार र बिकास गर्ने धन्वन्तरीको जन्म जयन्तिको अवसर पारी पोखराको न्यूरोडमा रहेको स्पर्श आयुर्वेद अस्पतालसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो ।
धन्वन्तरी दिवस पारेर ज्येष्ठ नागरिकहरुका लागि बुढ्यौली रोग भनेर चिनिने डिमेन्सिया रोगका साथै बिशेष उपचारको व्यवस्था रहेको अस्पतालका चिकित्सक डा.गोपिनाथ पौडेलले बताए । सोसाईटीका अध्यक्ष डा. अमृत घिमिरेका अनुसार वृद्धवृद्धा भएपछि विभिन्न किसिमका रोगहरु लाग्ने गरेपनि पोखरामा ज्येष्ठ नागरिककै लागि भनेर पोखरामा अस्पताल नभएकाले यो सेवा सुरु गरेको जानकारी दिए । ‘वृद्धावृद्धाकै लागि भनेर हामीले यो सेवा सुरु गरेका हौं ।’ घिमिरेले भने– ‘अस्पतालबाट वृद्धवृद्धाका सम्पूर्ण रोगहरुको उपचार गर्ने व्यवस्था मिलाएका छौं ।’ उनले डाक्टर सेवा शुल्क, ल्याब टेस्ट तथा औषधिहरुमा पनि ज्येष्ठ नागरिकहरुलाई १० देखि २० प्रतिशतसम्म छुट दिईने बताए । साथै, हाललाई पाँच जना क्षमताको डे केयर सेन्टर समेत रहेकाले यो सेवा पनि सुरु गरिने बताए । केहि वर्षमा पूर्वाधार तयार भएपछि एक सय जनासम्म डे केयरमा राखिने लक्ष्य लिईएको छ ।
जेरियाट्रिक उपचार सेवा शुभारम्भ गर्दै पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय, पोखराका निर्देशक डा. तारानाथ पौडेलले ज्येष्ठ नागरिकहरु आफ्नौ छोराबुहारीबाट तिरस्कृत हुनुपरेको भन्दै सबै सन्ततिले आफ्ना आमाबाबुको योगदानलाई स्मरण गर्दै कर्तव्य पालना गर्नुपर्ने बताए । उनले वृद्धवृद्धाहरु रोगबाट थलिने र उनीहरुलाई उपचार सेवामा पनि समस्या पर्ने गरेको बताउँदै सोसाईटीको यो प्रयास प्रंशसायोग्य रहेको बताए । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु, गरीबहरुका लागि सरकारी तबरबाट केहि सहुलियत भएपनि पर्याप्त नभएको बताए ।
ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष बसन्तकेशव पराजुलीले ज्येष्ठ नागरिकप्रति समाजको दृष्टिकोण सकारात्मक हुनुपर्ने भन्दै उनीहरुको विषयमा संवेदनशील हुन आग्रह गरे । ‘सबै जना एक दिन बुढाबुढी हुनैपर्छ ।’ पराजुलीले भने– भोलि आफुपनि हुनपर्ने छदैंछ अनि किन बुढाबुढीलाई हेला ?’
स्पर्श आयुर्वेद अस्पतालका अध्यक्ष कुशुमकेशव पराजुलीले अस्पतालमा आवश्यक पूर्वाधार रहेकाले सम्पूर्ण उपचारका लागि अस्पताल तयार रहेको बताए । उनले आर्युवेदका पञ्चकर्म सहित फिजियोथेरापी लगायतका सबै उपचारहरु गरिने उल्लेख गरे ।
शुभारम्भका अवसरमा पहिलो दिन ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच समेत गरिएको थियो ।
