पोखरामा एमालेको घरदैलो अभियान तीव्र

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका-१४ मा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। सोमबार उनले खाल्टेमसिना, भोटेचौतारा, काजीपोखरी, चाउथे लगायत करिब २० वटा टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।

घरदैलोका क्रममा उम्मेद्वार अधिकारीले आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुँदा मझेरीपाटनस्थित रामेश्वरी माविको आठ कोठे भवन निर्माणका लागि पहल गरेको स्मरण गराए। उनले सुकुम्बासी समस्या समाधानमा एमालेले विगतमा खेलेको भूमिकालाई निरन्तरता दिँदै पुनः प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीयवासीले वडाभित्र बढ्दो चोरीका घटनाप्रति चिन्ता व्यक्त गर्दै सीसीटिभी जडानको आवश्यकता औँल्याएका थिए।

त्यसप्रति प्रतिक्रिया दिँदै अधिकारीले आफू निर्वाचित भएपछि पूर्वाधार निर्माण, सुरक्षा जोखिम न्यूनीकरण, आर्थिक विकास र संसदीय भूमिकामा सक्रिय सहभागिता जनाउने बताए। उनले विकास निर्माणका काममा जनसहभागिता अपरिहार्य हुने उल्लेख गरे।

“कास्की-१ मा एमालेले जितेपछि नै पूर्वाधार निर्माणमा सम्झनलायक काम भएका छन्,” उनले दाबी गरे। साथै नयाँ पार्टीको नाममा फैलाइने भ्रममा नपर्न मतदातालाई आग्रहसमेत गरे।

यसैबीच एमालेले मंगलबारदेखि मादी गाउँपालिकामा पनि घरदैलो अभियानलाई निरन्तरता दिने जनाएको छ। मंगलबार मादी-१, ६ र ७ मा कार्यक्रम तय गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: