गोरखाबाट रवि लामिछानेको अपिल: “सिंहदरबार पुनः बन्छ, तर गुमेको जीवन फर्किंदैन”

Share:

पोखरा । रवि लामिछानेले भौतिक संरचनाको क्षति पूर्ति गर्न सकिने भए पनि मानवीय क्षतिको भरपाई असम्भव हुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले गोरखा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै “जेनजी” आन्दोलनका क्रममा भएको क्षतिप्रति लक्षित गर्दै यस्तो धारणा राखेका हुन्।

गत पुस महिनामा सुशासनको माग गर्दै युवाहरूले थालेको “जेनजी” आन्दोलन उग्र बन्दै जाँदा देशका विभिन्न स्थानमा झडप भएको थियो। घटनामा ७७ जनाको ज्यान गएको थियो भने ऐतिहासिक धरोहर सिंहदरबारमा आगजनी भएको थियो।

सभामा लामिछानेले आन्दोलनका क्रममा पहिले राज्यका तर्फबाट गोली चलाइएकै कारण परिस्थिति भड्किएको दाबी गरे। उनले भने, “यहाँ कसैले भ्रम फैलाएका छन्- सिंहदरबार जलायो, विध्वंस गर्‍यो भनेर। तर यदि गोली नचलेको भए केही पनि जल्ने थिएन। जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन। रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन। सिंहदरबार त हामी पुनः निर्माण गरिहाल्छौँ नि।”

सरकारी संरचना जलेकोमा आफूहरूले गौरव नगरेको स्पष्ट पार्दै उनले नागरिकको जीवन रक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए। “भवन बनाउँदा समय लाग्ला, तर गुमेको जीवन फर्किँदैन,” उनले भावुक हुँदै भने।

लामिछानेको अभिव्यक्तिले चुनावी माहोलमा फेरि एकपटक ‘जेनजी’ आन्दोलन र त्यसका असरहरूबारे बहस चर्किने संकेत देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: