
काठमाडौं । रवि लामिछाने ले जेनजी आन्दोलनका क्रममा भएका आगजनी घटनाको आरोप पुराना दलहरूलाई लगाउँदै कडा टिप्पणी गरेका छन्। परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले आफूहरू सुशासनको प्रत्याभूति दिलाउन आएको दाबी गर्दै पाँच वर्ष काम गर्ने अवसर दिन मतदातासँग आग्रह गरे।
“हामीलाई यसपटक हेर्नुस्, परिवर्तन नभए तपाईंहरूको पार्टीमा समाहित हुन्छौँ,” उनले चुनौतीपूर्ण शैलीमा भने। जेनजीको भावनालाई आत्मसात् गर्दै परिवर्तनको पक्षमा मतदान गर्न उनले अपिल गरे।
सभामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ले स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिए। कृषि र पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफूहरूलाई विजयी गराउन आग्रह गर्दै उनले चितवनको उदाहरण प्रस्तुत गरे। “चितवनले सिंगो देशलाई पर्यटन कसरी गर्ने सिकाइरहेको छ,” उनले भने, “आफ्नो घरमा खानेकुरा पर्यटकलाई बेचेर नेपाललाई विश्वमा चिनाएका छन्।”
उनले किसानले उत्पादन गरेको दूध र तरकारी सडकमा बग्नुको कारण राजनीतिक सिन्डिकेट भएको आरोप लगाए। त्यसैगरी रास्वपाका उपसभापति स्वर्णिम वाग्ले ले रास्वपा जनतालाई भयबाट मुक्त गर्दै आशाको राजनीतिबाट माथि उठाउन आएको दाबी गरे।
