
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म ४७ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा पाँच जना महिला उम्मेदवार विजयी भएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार र नेपाली कांग्रेसकी एक उम्मेदवार संसद्मा पुग्न सफल भएका हुन्। नयाँ पुस्ता र सामाजिक अभियानबाट उदाएका यी महिलाहरूले परम्परागत राजनीतिक शक्ति र प्रभावशाली प्रतिस्पर्धीलाई पराजित गर्दै उल्लेखनीय सफलता हासिल गरेका छन्।
रुविना आचार्य (रास्वपा)
मोरङ-६ बाट विजयी रुविना आचार्यले कोइराला परिवारको राजनीतिक विरासतलाई चुनौती दिँदै ऐतिहासिक जीत हात पारेकी छन्। ३१ वर्षीया आचार्य सामाजिक अभियान, महिला अधिकार र नागरिक सहभागिताका मुद्दामा सक्रिय रहँदै आएकी थिइन्। काठमाडौं विश्वविद्यालयबाट एमबीए पूरा गरेकी उनले डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियान, ‘तातो भात अभियान’ तथा महिला हिंसाविरुद्धका विभिन्न आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी छन्।
रञ्जु दर्शना (रास्वपा)
काठमाडौं-१ बाट विजयी रञ्जु दर्शना (न्यौपाने) लामो राजनीतिक उतारचढाव पार गर्दै अन्ततः संसद्मा पुगेकी छन्। १७ वर्षको उमेरदेखि सामाजिक अभियानमा सक्रिय उनले २०७४ मा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएपछि राष्ट्रिय स्तरमा चर्चा पाएकी थिइन्। यसपटक उनले १५ हजार ४५५ मतसहित विजयी हुँदै आफ्नै पूर्व सहकर्मीसमेत रहेका प्रतिस्पर्धीलाई पछि पारेकी छन्। विशेष कुरा, उनी सुत्केरी भएको ११ दिनमै सांसद बन्न सफल भएकी छन्।
बिना गुरुङ (रास्वपा)
कास्की-३ बाट बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी भएकी छन्। सामाजिक सेवाबाट राजनीतिमा प्रवेश गरेकी गुरुङले ‘सञ्जीवनी सिस्टर्स एसोसिएसन’ मार्फत सयौँ महिलालाई सशक्तिकरण, तालिम र सहयोग प्रदान गर्दै आएकी थिइन्। पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएरै उनले उल्लेखनीय जीत हासिल गरेकी हुन्।
कोमल ज्ञवाली (रास्वपा)
कैलाली–१ बाट कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित निर्वाचित भएकी छन्। व्यवसाय र व्यवस्थापन क्षेत्रमा सक्रिय उनी कृषियन्त्र, बिउबिजन तथा कृषि व्यवसायमा संलग्न रहँदै आएकी छन्। भ्रष्टाचारविरुद्ध कडा अभियान चलाउने प्रतिबद्धतासहित चुनाव लडेकी ज्ञवाली पहिलो प्रयासमै संसद्मा पुग्न सफल भएकी हुन्।
बासना थापा (नेपाली कांग्रेस)
दैलेख-१ बाट नेपाली कांग्रेसकी बासना थापाले १२ हजार ३७२ मतसहित जीत हात पारेकी छन्। उनले एमालेका उम्मेदवार रवीन्द्रराज शर्मालाई ४७६ मतले पछि पार्दै १२ वर्षपछि कम्युनिस्टको गढ भत्काएकी छन्। यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा नारायण नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी थापा यसपटक भने प्रतिनिधिसभामा पुग्न सफल भएकी हुन्। हालसम्मको नतिजाले संसद्मा नयाँ पुस्ता र महिला नेतृत्वको उपस्थिति बढ्ने संकेत दिएको विश्लेषण गरिएको छ।
