गगन थापालाई अमरेश कुमार सिंहको खुल्लापत्र: “भ्रष्टको साथ छोडेर स्वच्छ राजनीतिमा आउनुहोस्”

187
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सर्लाही-४ बाट नवनिर्वाचित सांसद अमरेश कुमार सिंहले गगन थापा लाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत खुल्लापत्र सार्वजनिक गरेका छन्। उक्त पत्रमा उनले चुनावी प्रतिस्पर्धादेखि लिएर आगामी राजनीतिक सहकार्यसम्मका विषय उठाएका छन्।

खुल्लापत्रको सुरुवातमै सिंहले थापालाई धन्यवाद दिँदै सर्लाहीमा आएर चुनाव लडेकोमा आभार व्यक्त गरेका छन्। तर उनले थापालाई भ्रष्ट समूहद्वारा आयातित उम्मेदवार भएको आरोप समेत लगाएका छन्।

पत्रमा उनले लेखेका छन् कि चुनावी प्रतिस्पर्धाका क्रममा आफूविरुद्ध निजी र पारिवारिक जीवनमाथि टिप्पणी गराइएको दाबी गरेका छन्। यद्यपि उनले यसले आफूलाई खासै असर नगरेको भन्दै राजनीति सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

सिंहले चुनावी तिक्तता अब समाप्त गरेर देश निर्माणतर्फ अघि बढ्नुपर्ने उल्लेख गरेका छन्। उनका अनुसार अब देश निर्माणको जिम्मेवारीमा रास्वपा अघि बढिसकेको छ र विभिन्न राष्ट्रिय मुद्दामा भविष्यमा सहकार्य हुन सक्ने सम्भावना पनि उनले औंल्याएका छन्।

उनले खुल्लापत्रमा थप लेखेका छन् कि भ्रष्टाचारविरुद्ध जनताले रास्वपालाई बलियो जनमत दिएको दाबी गर्दै गगन थापा लाई पनि “भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीतिमा लाग्न” आग्रह गरेका छन्।

सिंहले थापाले नेपाली कांग्रेस भित्र परिवर्तन ल्याउने प्रयास गरेको उल्लेख गर्दै “कांग्रेस परिवर्तन गर्न खोज्नुभयो तर आफू परिवर्तन हुन सक्नुभएन” भन्ने टिप्पणी समेत गरेका छन्। अन्त्यमा उनले थापाको आगामी राजनीति सफा र स्वच्छ होस् भन्ने कामना गरेका छन्।

उनले थापालाई १२ हजार ८५७ मतको फराकिलो अन्तरले पराजित गर्दै लगातार चौंथो पटक सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यमा चुनिएका हुन् । सिंह ३५ हजार ६८८ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी थापालाई भने २२ हजार ८३१ मत प्राप्त भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: