
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा नेपालको राजनीतिक चित्र नै फेरिएको देखिएको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६३ को परिणाम सार्वजनिक भइसकेको छ भने अब दुई क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ। तीमध्ये धनुषा-१ को नतिजा तत्काल सार्वजनिक नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। हालसम्म सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ ऐतिहासिक सफलता हासिल गर्दै १२५ सिट जितेको छ। यससँगै रास्वपा करिब दुई तिहाइ बहुमतसहित संसदको सबैभन्दा ठूलो शक्ति बनेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ८ सिट जितेर एक क्षेत्रमा अग्रता कायम गरेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ७ सिट जित्दै एक क्षेत्रमा अग्रता लिएको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पनि उल्लेखनीय उपस्थिति जनाउँदै ३ सिट जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार डा. महावीर पुन पनि निर्वाचित हुँदै संसदको यात्रा तय गरेका छन्।
यसपटकको निर्वाचनले नेपालको राजनीतिक संरचनामा ठूलो फेरबदल ल्याएको छ। कुल ६८ दल चुनावी मैदानमा रहे पनि अब संसदमा केवल ६ दलको मात्र प्रतिनिधित्व हुने देखिएको छ। प्रत्यक्षमा सिट जित्न नसकेका र समानुपातिकतर्फ पर्याप्त मत ल्याउन नसकेका अधिकांश साना तथा क्षेत्रीय दलहरू संसद बाहिरै रहने भएका छन्।
२०७९ सालको प्रतिनिधिसभामा १२ दलको उपस्थिति थियो। तर यसपटक मतदाताले साना दलहरूलाई पाखा लगाउँदै मुख्य शक्तिहरूलाई मात्रै संसद प्रवेशको अवसर दिएका छन्। समानुपातिकतर्फ पनि रास्वपा अग्रस्थानमा देखिएको छ। हालसम्म रास्वपाले ४५ लाख ६४ हजार ३१४ मत प्राप्त गरेको छ।
त्यसपछि नेपाली कांग्रेस १५ लाख ३० हजार ३०९ मत सहित दोस्रो स्थानमा छ भने नेकपा एमालेले १२ लाख ७६ हजार ४५१ मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ६ लाख ८७ हजार १३६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २ हजार २०३ मत प्राप्त गरेका छन्। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३ लाख २४ हजार ५३३ मत ल्याउँदै राप्रपाभन्दा पनि बढी मत प्राप्त गरेको छ। छोटो समयमै गठन भएको यस पार्टीले उल्लेखनीय मत ल्याउँदै ‘थ्रेसहोल्ड’ नजिक पुगेको छ।
यसपटक धेरै साना तथा क्षेत्रीय दलहरूले अपेक्षाकृत मत ल्याउन सकेनन्। जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले समानुपातिकमा २० हजार ४४७ मत मात्रै ल्याएको छ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी, सीके राउतको जनमत पार्टी, उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नारायणमान बिजुक्छेको नेपाल मजदुर किसान पार्टी, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा लगायत दर्जनौं दलहरूको मत अत्यन्त न्यून देखिएको छ। केही दल त हजार मत पनि कटाउन नसक्ने अवस्थामा पुगेका छन्। उन्नत लोकतान्त्रिक पार्टीले हालसम्म ५३१ मत मात्रै पाएको छ भने जनप्रिय लोकतान्त्रिक पार्टीले ७१७ मत प्राप्त गरेको छ। यससँगै ती सबै दलहरू संसद बाहिरै रहने लगभग निश्चित भएको छ।
