
पोखरा । २०७९ को निर्वाचनमा सत्ता गठबन्धनलाई पराजित गर्दै कास्कीका तीनै निर्वाचन क्षेत्र ‘क्लिन स्विप’ गरेको नेकपा एमालेका लागि यसपटकको प्रतिनिधिसभा निर्वाचन भने बिर्सनलायक बनेको छ। २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा कास्कीका तीनै क्षेत्र गुमाएपछि एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाले जिम्मेवारीबाट राजीनामा दिन तयार रहेको संकेत दिएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले नतिजा पार्टीका लागि चुनौतीपूर्ण भएको स्वीकार गरेका छन्। पार्टीको हितलाई ध्यानमा राख्दै आफूले सम्हाल्दै आएको कास्की जिल्ला इन्चार्ज र केन्द्रीय सदस्य पद समेत त्याग गर्न तयार रहेको उनले बताएका छन्। उनले विगतका निर्वाचनहरूमा आफ्नो नेतृत्वमा उल्लेख्य सफलता हासिल भएको स्मरण गर्दै यसपटकको परिणामबारे पार्टीभित्र वस्तुगत आत्मसमीक्षा आवश्यक रहेको बताए।
“वर्तमान परिस्थिति आउनुमा कास्की इन्चार्जका रूपमा मेरो कुनै कमजोरी रहेको भए आत्मआलोचित हुन चाहन्छु,” उनले भने, “पार्टीले आवश्यक ठानेमा जिल्ला इन्चार्जको भूमिकाबाट मात्र होइन, केन्द्रीय समितिको सदस्य पद समेत त्याग गर्न तयार छु।” निर्वाचनमा प्रतिकूल परिस्थिति र चौतर्फी दबाबका बीच पनि खटिएका नेता-कार्यकर्ता र निर्वाचन परिचालन समितिलाई उनले धन्यवाद दिएका छन्। सूर्य चिह्नमा मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै उनले कार्यकर्तालाई संयमित र धैर्यवान रहन आग्रह गरेका छन्।
“हामी अहिले ढलेको अवस्थामा छौँ, तर मरेका छैनौँ,” थापाले भने, “पार्टीलाई एकताबद्ध राख्दै जनताको सेवामा निरन्तर लाग्नुपर्छ।” एमालेले इतिहासका विभिन्न कालखण्डमा ठूला उतारचढाव पार गर्दै आएको उल्लेख गर्दै थापाले वर्तमान चुनौतीलाई पनि संघर्षकै एक चरणका रूपमा लिनुपर्ने बताएका छन्। उनले निर्वाचनमा खटिएका संयोजक, सदस्य तथा विभिन्न तहका नेताहरूको योगदानको प्रशंसा गर्दै पार्टी एकता कायम राख्न सबैलाई आह्वान गरेका छन्। कास्कीमा प्राप्त निर्वाचन परिणामलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै उनले कार्यकर्तालाई विचलित नहुन र आगामी दिनमा थप सशक्त रूपमा संगठित हुन आग्रह गरेका छन्।
