
पोखरा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले न्यूनतम मत सीमा पार गर्न नसक्दा ४० जनाको जमानत जफत भएको छ। निर्वाचन नियमअनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ।
निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल ४९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। तर अन्तिम मत परिणामअनुसार प्रत्येक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबाहेक अन्य ४० जनाले १० प्रतिशत मत कटाउन सकेनन्।
कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खड्कराज पौडेल (गनेस) ३९ हजार ८८३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत प्राप्त गरे भने नेकपा एमालेका वैनबहादुर क्षत्री (अधिकारी) ले १० हजार ४२९ मत ल्याए। यस क्षेत्रमा प्रतिस्पर्धा गरेका अन्य १४ उम्मेदवारको जमानत जफत भएको छ।
कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम पौडेल ३१ हजार ९११ मतसहित निर्वाचित भए। एमालेकी रश्मि आचार्य ७ हजार ४९३ मतसहित दोस्रो र कांग्रेसका माधवप्रसाद बाँस्तोला ६ हजार ५०० मतसहित तेस्रो स्थानमा रहे। यस क्षेत्रमा पनि अन्य १४ उम्मेदवारले १० प्रतिशत मत नकटाउँदा जमानत गुमाएका छन्।
कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी बिना गुरुङ ३७ हजार ७५० मतसहित निर्वाचित भइन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गरे भने एमालेका दामोदर बैरागी ७ हजार ९०६ मतमा सीमित भए। यस क्षेत्रमा १२ जना उम्मेदवारको जमानत जफत भएको छ।
निर्वाचन कार्यालयका अनुसार कास्कीमा साना दल र स्वतन्त्र उम्मेदवारहरूको प्रभाव निकै कमजोर देखिएको छ। जमानत जोगाउन नसक्ने धेरै उम्मेदवारले १ प्रतिशत मत पनि कटाउन सकेनन्। केही साना दलले हजारभन्दा बढी मत ल्याए पनि १० प्रतिशतको न्यूनतम सीमा पार गर्न नसक्दा उनीहरूको पनि जमानत जफत भएको छ।
