बागलुङको ढोरपाटनमा दादुरा संक्रमण फैलियो: ७ हजार बालबालिकालाई खोप अभियान, विद्यालय बन्द

Share:

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकामा दादुरा संक्रमण फैलिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल नियन्त्रणका लागि विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ। संक्रमण देखिएपछि नगरपालिकाका ७, ८ र ९ नम्बर वडामा १० देखि २० वर्ष उमेर समूहका करिब ७ हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने तयारी गरिएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य टोली खटिएर रोग नियन्त्रणको काम भइरहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हालसम्म ६ जना बालबालिकामा दादुरा पुष्टि भएको छ भने ५६ जना शंकास्पद बिरामीलाई निगरानीमा राखिएको छ।

प्रादेशिक स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माका अनुसार प्रारम्भिक अनुसन्धानले गत पुसमा भारतबाट आफन्त भेट्न ढोरपाटनको बोबाङ आएका एक बालकबाट संक्रमण फैलिएको देखाएको छ। ती बालक हाल भारत फर्किसकेका छन्। उनले भेटेका निसीखोला गाउँपालिकाका बालबालिकामा समेत संक्रमण हुन सक्ने आशंकामा खोजी अभियान सुरु गरिने जनाइएको छ।

संक्रमण तीव्र गतिमा फैलिन थालेपछि ढोरपाटन नगरपालिकाले फागुन २७ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माका अनुसार बोबाङ, सेरावाङ र लाँकुरीबोट गाउँका बालबालिकामा ज्वरो र शरीरमा बिमिरा देखिन थालेपछि सतर्कताका रूपमा विद्यालय बन्द गरिएको हो।

क्षेत्रीय जनस्वास्थ्य कार्यालयले धौलागिरि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई प्रभावित क्षेत्रमा खटाएको छ। विश्व स्वास्थ्य संगठनको विज्ञ टोलीले पनि घटनाको अध्ययन गर्ने तयारी गरेको छ। वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले विद्यालय खुल्नुअघि नै संक्रमण नियन्त्रण गर्न औषधि र आवश्यक स्वास्थ्य सामग्रीसहित उपचार जारी रहेको जानकारी दिए।

दादुरा अत्यन्त संक्रामक भाइरल रोग हो। एक जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण सार्न सक्ने चिकित्सकहरूले बताएका छन्। यस रोगका प्रमुख लक्षणमा ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने तथा शरीरमा बिमिरा देखिनु पर्दछ।

सामान्यतया पाँच वर्षमुनिका बालबालिकामा बढी देखिने दादुरा यसपटक भने ढोरपाटन क्षेत्रमा १० देखि २० वर्ष उमेर समूहका बालबालिकामा देखिएको छ। नेपाल सरकारले सन् २०२६ सम्म दादुरा पूर्ण रूपमा उन्मूलन गर्ने लक्ष्य राखेको छ। तर घुम्ती बस्तीका कारण कतिपय बालबालिकाले नियमित खोप नपाएको हुन सक्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्। बागलुङ जिल्लामा करिब एक दशकपछि दादुराको संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: