
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फका सबै १६५ सिटको परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि लगभग सकिन लागेको निर्वाचन आयोगले जनाएको छ।
अहिलेसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ जारी मतगणनामा पनि रास्वपाले करिब ४८ प्रतिशत मत प्राप्त गरेको छ। यस आधारमा समानुपातिकबाट थप करिब ५८ सिट रास्वपाको खातामा जाने देखिएको छ। यसले प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत सुनिश्चित हुने संकेत गरेको छ।
यही परिणामसँगै अब धेरैको ध्यान रास्वपाले अघि सारेका नेता बालेन शाह कहिले प्रधानमन्त्री बन्छन् भन्ने प्रश्नमा केन्द्रित भएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक मतगणना सकिएपछि आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा सिट संख्या निर्धारण गर्छ। त्यसपछि ती सिटका लागि दलहरूसँग सांसदको नामावली मागिन्छ।
राजनीतिक दलले पठाएको सूची संविधानले तोकेअनुसार विभिन्न “क्लस्टर” अर्थात् लिंग, जातीय र सामाजिक प्रतिनिधित्वको आधारमा मिलेको-नमिलेको आयोगले जाँच गर्नेछ। उदाहरणका लागि, प्रत्येक दलले संसदमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था छ। ती महिलाभित्र पनि दलित, मधेसी, जनजाति, खसआर्य लगायत विभिन्न समुदायको प्रतिनिधित्व भएको हुनुपर्छ।
यदि सूची क्लस्टरअनुसार नमिलेको पाइएमा दललाई फेरि मिलाएर पठाउन आयोगले निर्देशन दिन्छ। सबै प्रक्रिया पूरा भएपछि मात्र समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिनेछ। यी सबै प्रक्रिया सम्पन्न भएपछि मात्र प्रतिनिधिसभा निर्वाचनको पूर्ण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार चैत पहिलो साताभित्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाइने सम्भावना छ।
प्रतिवेदन बुझाइएपछि भने नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरू हुनेछ। संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। त्यसअनुसार रास्वपाले पहिले आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ।
निर्वाचनअघि नै रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो। त्यसैले संसदीय दलको नेता पनि उनलाई नै बनाइने लगभग निश्चित देखिएको छ। रास्वपाले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। निर्वाचन आयोगको बाँकी प्रक्रिया र रास्वपाको आन्तरिक निर्णय प्रक्रिया हेर्दा चैत दोस्रो सातातिर बालेन शाह प्रधानमन्त्री नियुक्त हुने सम्भावना बलियो देखिएको छ।
