
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
परिवारका अनुसार केही समययता स्वास्थ्य समस्या झेल्दै आएका मोहनप्रसाद ओलीको उपचारका क्रममा आज बिहान निधन भएको हो।
उनको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा लगिने तयारी भइरहेको छ, जहाँ आफन्त तथा शुभेच्छुकले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको परिवारले जनाएको छ। मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरू तथा शुभेच्छुकहरूले समवेदना व्यक्त गर्न थालेका छन्।
