
पोखरा। नेपालकै एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा पहिलोपटक केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ। भौगोलिक रूपमा विकट क्षेत्र भएकाले अहिलेसम्म केन्द्रीय लाइन पुग्न नसकेको ढोरपाटन अब राष्ट्रिय प्रसारण प्रणालीसँग जोडिएको हो।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट करिब ३५ किलोमिटर पश्चिममा रहेको ढोरपाटनसम्म ११ केभी प्रसारण लाइन विस्तार गरेको हो। प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीका अनुसार अघिल्लो वर्षदेखि विद्युत् पोल गाड्ने र लाइन तान्ने काम सुरु गरिएको थियो र बिहीबारदेखि नियमित रूपमा विद्युत् प्रसारण सुरु गरिएको छ।
करिब १५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको यो परियोजनाले ढोरपाटन उपत्यका र आसपासका बस्तीलाई केन्द्रीय विद्युत् सेवासँग जोडेको छ। अब क्रमशः स्थानीयका घरघरमा विद्युत् विस्तार गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ।
यसअघि ढोरपाटन क्षेत्रका बासिन्दाले ४० किलोवाट क्षमताको गर्पाखोला लघुजलविद्युत् आयोजना र ६० किलोवाट क्षमताको ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनामार्फत सीमित विद्युत् सेवा लिँदै आएका थिए। पर्याप्त उत्पादन नहुँदा स्थानीयले विद्युत् अभावको समस्या झेल्दै आएका थिए।
ढोरपाटन नगरपालिका-९ का अध्यक्ष खिमबहादुर घर्तीमगरका अनुसार ढोरपाटन उपत्यकाका सलथान, बिजौलीखोला, छन्तुङ र खाल्डेखुल्डेलगायत बस्तीका करिब २५० भन्दा बढी घरमा अझै पनि विद्युत् पुगेको छैन। तर केन्द्रीय लाइन पुगेपछि स्थानीयको मागअनुसार क्रमशः घरघरमा लाइन जडान गरिने उनले बताए।
‘ढोरपाटनका धेरै घरमा अझै पनि विद्युत् नपुगेको अवस्था छ। स्थानीयले टुकी र दियालो बालेर रात कटाउँदै आएका छन्। अब केन्द्रीय लाइन आएपछि स्थिति सहज हुनेछ,’ अध्यक्ष घर्तीमगरले भने।
ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनका अनुसार लघुजलविद्युत्बाट पर्याप्त विद्युत् उत्पादन नहुँदा होटल व्यवसायमा प्रयोग हुने विद्युतीय उपकरण सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो। अब भने कपडा धुने मेसिन, हिटरलगायत उपकरण सहज रूपमा प्रयोग गर्न सकिने उनले बताए।
अत्यधिक चिसो हुने ढोरपाटन क्षेत्रमा वर्षभरि नै हिटर आवश्यक पर्ने भए पनि विद्युत् अभावका कारण प्रयोग गर्न नसकिएको अवस्थामा केन्द्रीय लाइन पुगेपछि स्थानीय जीवन र पर्यटन व्यवसाय दुवैमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
