कास्की-१ का सांसद गनेस पौडेलद्वारा १५ लाख ५५ हजार रुपैयाँ चुनावी खर्च विवरण सार्वजनिक

Share:

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गनेस पौडेलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। उनले कुल १५ लाख ५५ हजार ७९२ रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालय कास्कीमा बुझाएका हुन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार उनले खर्च विवरण पेश गरेका हुन्।

पौडेलले बुझाएको विवरण अनुसार चुनावी अभियानमा सबैभन्दा बढी रकम स्वयंसेवक परिचालन र खानाखाजामा खर्च भएको छ। स्वयंसेवक प्रशिक्षण, गोष्ठी, भेला, अन्तरक्रिया, घरदैलो तथा मतगणना जस्ता गतिविधिमा ४ लाख ७६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

त्यसैगरी ब्यानर, झण्डा, नमुना मतपत्र, घोषणापत्र तथा सञ्चार सामग्री लगायत प्रचारप्रसारका सामग्रीमा ४ लाख ५० हजार ९९२ रुपैयाँ खर्च गरिएको जनाइएको छ। चुनावी अभियानका क्रममा ४ वटा गाडी प्रयोग गरिएको र चालक तथा इन्धन खर्चसहित त्यसका लागि ४ लाख रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। तीमध्ये दुई वटा गाडी १५ दिन र अन्य दुई वटा गाडी ७ दिनसम्म प्रयोग गरिएको थियो।

यसैगरी मादी गाउँपालिका, रुपा गाउँपालिका तथा पोखरा महानगरपालिका-११ मा क्षेत्रीय, पालिका तथा वडा स्तरका सम्पर्क कार्यालय स्थापना र दुई महिनासम्म सञ्चालनका लागि १ लाख ३० हजार रुपैयाँ खर्च गरिएको छ। मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ शुल्क बुझाइएको र अन्य विविध शीर्षकमा ८८ हजार ३०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

खर्च विवरण बुझाउने क्रममा उम्मेदवारका प्रतिनिधि श्रीकृष्ण न्यौपानेले निर्वाचनका क्रममा भएका सबै खर्चलाई पारदर्शी बनाउने उद्देश्यले कानुन र आचारसंहिताको परिधिभित्र रहेर विवरण पेश गरिएको बताए। उनले निर्वाचन अभियान मितव्ययी ढंगले सञ्चालन गर्ने प्रयास गरिएको पनि उल्लेख गरे।

पौडेलका तर्फबाट उनका प्रतिनिधि न्यौपानेले २०७९ साल फागुन १८ गते जिल्ला निर्वाचन कार्यालय कास्कीमा उक्त खर्च विवरण दर्ता गराएका हुन्। निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै अन्तिम खर्च विवरण पेश गरिएको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: