११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा पोखरामा मेनोपज सचेतना कार्यक्रम

Share:

पोखरा। ११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पर्यटन व्यवसायी महिला संघ (टेवान) पोखराले महिलालाई लक्षित गर्दै मेनोपज सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। पोखरा मा सम्पन्न उक्त कार्यक्रम सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय को सहयोग तथा कास्की मोडेल हस्पिटल को प्राविधिक सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा बैदाम स्थित महिला सञ्जाल अन्तर्गत १८ वटै आमा समूहका प्रतिनिधि तथा करिब ९० जना पर्यटन व्यवसायी महिलाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ स्त्रीरोग विशेषज्ञ चण्डिका पण्डितले मेनोपज सम्बन्धी स्वास्थ्य समस्या, लक्षण र सावधानीबारे जानकारी गराइन्। उनले महिलाहरूले मेनोपजलाई स्वाभाविक जीवनचक्रका रूपमा बुझ्दै स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताइन।

कार्यक्रममा बोल्दै टेवान पोखराकी अध्यक्ष शोभा न्यौपाने पाण्डेले संस्थाले पर्यटन प्रवर्द्धनसँगै महिलाको क्षमता अभिवृद्धि, स्वास्थ्य सचेतना तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्।

यसै अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन प्रवर्द्धनका साथै सामाजिक क्षेत्रमा टेवानले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरिन्। कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, जनस्वास्थ्यकर्मी जिता बराल तथा महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल लगायतले पनि आफ्ना धारणा राखेका थिए।

टेवानका अध्यक्ष शोभा न्यौपाने पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शोभा अधिकारी पौडेलले गरेकी थिइन् भने कार्यक्रम संयोजक सुधा सुवेदी बराल रहेकी थिइन् ।

कार्यक्रमका अवसरमा सहभागी महिलाहरूको सामान्य स्वास्थ्य परीक्षण, सुगर तथा प्रेसर लगायतका परीक्षण निःशुल्क गरिएको थियो। साथै टेवान र कास्की मोडेल हस्पिटल बीच टेवानका सदस्यहरूले प्राप्त गर्न सक्ने स्वास्थ्य सेवासम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: