पोखरामा ‘उद्यम क्लिनिक’ सुरु, व्यवसायीका समस्या समाधानका लागि नयाँ पहल भएको दाबी

Share:

पोखरा। व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्दै नयाँ सम्भावना खोज्ने उद्देश्यले पोखरा मा ‘उद्यम क्लिनिक’ सञ्चालनमा ल्याइएको छ। पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रले नेपालमै पहिलोपटक यस्तो क्लिनिक सुरु गरेको हो।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि क्लिनिकमार्फत् व्यवसायीका समस्या समाधानका लागि पहल थालिएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए। उनका अनुसार व्यवसायीका समस्या समाधानका लागि पोखरा रिसर्च सेन्टरसँग पनि सहकार्य गरिएको छ।

पोखरा रिसर्च सेन्टरसँग आबद्ध विज्ञहरूले व्यवसायीका समस्या सुन्ने मात्र नभई त्यसको समाधानका लागि व्यवहारिक, कानुनी तथा व्यवस्थापकीय सल्लाह दिने व्यवस्था गरिएको छ। आवश्यक परे व्यवसाय विस्तारका लागि पूँजी व्यवस्थापनमा समेत पहल गरिने बताइएको छ।

“समस्याको निदान गर्ने र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले सुरु गरिएको यो क्लिनिक व्यवसायीको हितमा समर्पित छ,” अध्यक्ष कार्कीले भने, “म व्यवसायीहरूलाई आफ्ना समस्या निर्धक्क राख्न, सहयोग लिन र आफ्नो व्यवसाय सफल बनाउन आग्रह गर्दछु।”

संघकी महासचिव शोभा गौतमका अनुसार क्लिनिक सुरु भएको पहिलो दिन नै तीन जना व्यवसायीले लिखित रूपमा आफ्ना समस्या पेस गरेका थिए भने करिब एक दर्जन व्यवसायीले मौखिक रूपमा आफ्ना समस्या सुनाएका थिए।

व्यवसायीहरूले राखेका समस्याबारे सुजन रेग्मीको नेतृत्वमा रहेको पोखरा रिसर्च सेन्टरका विज्ञ टोलीले अध्ययन गर्नेछ। टोलीमा अनुसन्धानकर्ता श्रीकृष्णध्वज बस्नेत समेत सहभागी छन्। अध्ययनपछि पोखरा उद्योग वाणिज्य संघ सँगको सहकार्यमा समस्याको समाधान खोजिने बताइएको छ।

कार्यक्रममा बोल्दै व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशीलता विकासका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

नयाँ अवधारणासहित सुरु गरिएको ‘उद्यम क्लिनिक’ले पोखराका व्यवसायीलाई समस्या समाधानसँगै व्यवसाय विस्तारका लागि मार्गदर्शन दिने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: