पोखरामा दुईदिने खेलकुद पत्रकारिता तालिम सुरु, ६५ पत्रकार सहभागी

Share:

पोखरा। खेल पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा दुईदिने खेलकुद पत्रकारिता तालिम शुक्रबारदेखि सुरु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा तथा प्रेस रजिष्ट्रारको कार्यालय को सहयोगमा तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन विमला भण्डारीले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै उनले खेलकुद पत्रकारिता तालिमले गण्डकी प्रदेशमा भइरहेका खेल गतिविधि र समग्र खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। साथै यस्तो तालिमले खेलकुदसँगै खेल पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले खेलकुद पत्रकारिता तालिमले खेल समाचारको लेखन शैली सुधार गर्न सहयोग पुग्ने बताए। त्यसैगरी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्ति मगरले पछिल्लो समय पोखरा खेलकुदको केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै खेलसम्बन्धी समाचारलाई अझ सशक्त र तथ्यपरक बनाउन तालिम आयोजना गरिएको बताए।

शनिबारसम्म सञ्चालन हुने तालिममा भलिबल, क्रिकेट, मार्सलआर्ट, गल्फ र फुटबल विषयमा प्रशिक्षण दिइनेछ। पहिलो दिन भलिबलतर्फ राजन पौडेल, क्रिकेटतर्फ दुर्गानाथ सुवेदी तथा गल्फतर्फ जीवा गुरुबले प्रशिक्षण दिएका थिए।

तालिमको दोस्रो दिन मार्सलआर्टका प्रशिक्षक शुभाष खड्का, फुटबलतर्फ हिमेश बज्राचार्य तथा क्रिकेटतर्फ पोखरा रंगशालामा प्रत्यक्ष अभ्याससहित प्रशिक्षण दिइने आयोजकले जनाएको छ। मञ्चका उपाध्यक्ष राजाराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम मञ्चका महासचिव परशुराम शर्मा ले सञ्चालन गरेका थिए। तालिममा कास्की जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत ६५ जना पत्रकार सहभागी छन्।

कमेन्ट गर्नुहोस्
Share: