
पोखरा। पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुलधामको तेस्रो वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गरिने भएको छ।
गोकुलधामका परिकल्पनाकार तथा संरक्षक भागवत भाष्कर युवा पण्डित कमल नयन गौतमका अनुसार यही चैत्र २ गतेदेखि ९ गतेसम्म पोखरा-१४ वात्सायक्ष क्षेत्र बाच्छीबुडुवास्थित गोकुलधाम परिसरमा ज्ञान महायज्ञ सञ्चालन हुनेछ। सेवा र धर्मलाई जीवनसँग जोड्ने उद्देश्यका साथ ‘सेवा नै धर्म हो’ भन्ने मूल नारालाई अघि सार्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
राष्ट्रिय परोपकार महासङ्घ नेपालले देशभर विभिन्न परोपकारी अभियान सञ्चालन गर्दै आएको छ। प्रकृति र हिमाल संरक्षणका लागि ‘कल्पवृक्ष अभियान’, गौ संरक्षणका लागि गौशाला निर्माण, ज्येष्ठ नागरिकका लागि ‘परोपकार ज्येष्ठ नागरिक चौतारी’, दैनिक एक रुपैयाँ दान, मुठ्ठी दान, धर्मशाला तथा अन्नक्षेत्र सञ्चालन, अनाथ तथा असहाय बालबालिकाका लागि बाल आश्रम, वैदिक संस्कृतिको संरक्षणका लागि गुरुकुल आश्रम सञ्चालन जस्ता कार्यक्रम महासङ्घले सञ्चालन गर्दै आएको जनाएको छ।
पोखरामा बढ्दो समस्याका रूपमा रहेका छाडापशुचौपायाको व्यवस्थापनका लागि तीन वर्षदेखि पोखरा-१४ बाच्छीबुडुवामा गोकुलधाम सञ्चालनमा छ। पोखरा महानगरपालिकाको सहयोग र महासङ्घको व्यवस्थापनमा सञ्चालित गोकुलधामले सडकमा बेवारिसे छाडिएका गोवंश तथा वृद्ध, रोगी र अशक्त अवस्थाका गाईहरूलाई आश्रय, उपचार, स्याहारसुसार र आहारको व्यवस्था गर्दै आएको छ।
हाल गोकुलधाममा करिब ३०० भन्दा बढी गोवंशको संरक्षण र संवर्द्धन भइरहेको गौतमले जानकारी दिए। तीन वर्षअघि सम्म पोखरामा छाडापशुचौपायाका कारण वर्षेनि दुर्घटनामा परेर तीन जनासम्मको ज्यान जाने गरेको भए पनि गोकुलधाम सञ्चालनपछि त्यस्ता दुर्घटना शून्य अवस्थामा पुगेको उनले बताए।
गोकुलधामलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित केही दुधालु गाईबाट दूध उत्पादन सुरु गरिएको छ। हाल दैनिक करिब ७० लिटरसम्म दूध उत्पादन भइरहेको छ। साथै गोबर र गहुँतको प्रशोधन गरी प्राङ्गारिक मल, गँड्यौला मल र झोल मल उत्पादन गर्नुका साथै अर्ग्यानिक तरकारी खेती पनि सुरु गरिएको छ।
पछिल्लो समय विभिन्न सङ्घसंस्था, विद्यार्थी समूह र सरोकारवालाहरूले गोकुलधाम पुगेर अध्ययन तथा अवलोकन गर्ने क्रम बढेको छ। यसलाई खुला सिकाइ केन्द्रका रूपमा विकास गर्दै ध्यान, साधना, आराधना र सेवाको केन्द्रका रूपमा बाच्छीबुडुवा क्षेत्रलाई आध्यात्मिक गन्तव्य बनाउने लक्ष्य राखिएको छ।
सोही उद्देश्यलाई साकार पार्न हजारौँ भक्तजनको सहभागितासहित गोकुलधाम दर्शन गराउने गरी श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गरिएको गौतमले जानकारी दिए। पोखरा महानगरपालिकाले पनि गौशाला सञ्चालनका लागि प्रत्येक वर्ष आर्थिक तथा अन्य सहयोग गर्दै आएको छ।
