
पोखरा । मध्यपूर्वमा बढ्दो युद्ध र तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली प्रभावित हुने आशंकासँगै त्यसको प्रभाव नेपाली भान्सासम्म देखिन थालेको छ। ग्यास आयात नियमित रहेको दाबी भए पनि उपभोक्तामा बढेको मनोवैज्ञानिक त्रास र सिलिन्डर सञ्चित गर्ने प्रवृत्तिका कारण बजारमा कृत्रिम अभाव देखिन थालेपछि कास्की प्रशासन सक्रिय भएको छ।
शनिबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले ग्यास वितरणलाई सहज बनाउन तत्कालका लागि ७.१ केजी (आधा तौल) ग्यास सिलिन्डर मात्र बिक्री गर्ने र वितरण प्रणालीलाई व्यवस्थित गर्ने निर्णय गरेको छ।
बैठकमा ग्यास उद्योग तथा आयल निगमका प्रतिनिधिहरूले ग्यास आयातमा कुनै कमी नभएको दाबी गरेका छन्। शक्ति ग्यासका सिइओ मेघराज पौडेलका अनुसार उद्योगले फागुन २९ गतेसम्म १ हजार ६६ मेट्रिक टन ग्यास खरिद गरेको छ, जुन सामान्य अवस्थाको ९ सय ५५ मेट्रिक टन भन्दा बढी हो।
उनका अनुसार युद्ध सुरु भएपछि उपभोक्ताले घरमा ३/४ वटा सिलिन्डरसम्म सञ्चित गर्न थालेपछि बजारमा अभाव देखिएको हो। उनले आइतबारदेखि आधा तौलको ग्यास धमाधम बजारमा पठाइने जानकारी दिए।
यता, नेपाल आयल निगम पोखराका प्रमुख शतिशराज ओझाले पोखरामा पेट्रोलियम पदार्थको मौज्दात पर्याप्त रहेको बताए। उनका अनुसार हाल १ करोड लिटर डिजेल मौज्दात छ, जसले सामान्य अवस्थामा करिब ४५ दिन धान्नेछ भने १० लाख ५० हजार लिटर पेट्रोलले करिब एक साताको माग पूरा गर्न सक्छ।
आधा तौलको ग्यास बिक्री गर्ने निर्णयले भने उद्योग र होटल व्यवसायीमा चिन्ता बढाएको छ। गृहलक्ष्मी ग्यासका अध्यक्ष धर्मराज बर्तौलाका अनुसार ७.१ केजी सिलिन्डर भर्दा सिल, क्याप, जनशक्ति र ढुवानी लागत बढेर उद्योगको खर्च दोब्बरजस्तै हुन्छ।
त्यस्तै, होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूले आधा तौलको ग्यास व्यावसायिक भान्साका लागि उपयुक्त नहुने बताएका छन्। रेबान पोखराका महासचिव वीरेन्द्र शेरचनले ‘हाई प्रेसर’ चुल्होमा आधा भरिएको सिलिन्डरले पर्याप्त चाप नदिने र धेरै ग्यास सिलिन्डरमै बाँकी रहने समस्या हुने बताए।
अनुगमन कडा, अनुमति भएका डिलरले मात्र बेच्न पाउने
जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास वितरणलाई पारदर्शी बनाउन अबदेखि उद्योग र विक्रेताले दैनिक प्राप्त र वितरण गरेको ग्यासको विवरण प्रशासनमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।
यसैगरी अनुमति पत्र भएका विक्रेताले मात्र ग्यास बिक्री गर्न पाउने, किराना वा अन्य पसलमा ग्यास राखेर बिक्री गर्न पूर्ण रोक, उद्योगहरूले आफ्ना आधिकारिक डिलरहरूको सूची प्रशासनमा बुझाउनुपर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उपभोक्ता हितविपरीत गतिविधि भए कडा कारबाही गरिने चेतावनी दिएकी छन्।
बैठकले विशेषगरी ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, पूर्ण अशक्त, अपांगता भएका व्यक्ति र डेरामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन विक्रेतालाई निर्देशन दिएको छ। ग्यासको सम्भावित संकटलाई ध्यानमा राख्दै प्रशासनले उपभोक्तालाई विद्युतीय चुल्हो प्रयोग गर्न समेत आग्रह गरेको छ।
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सञ्जीव श्री रम्तेलका अनुसार ग्यास अभावको हल्लासँगै विद्युत् खपत अचानक बढेको पाइएको छ। प्रशासनले मूल्यवृद्धि, तौलमा ठगी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा तत्काल प्रशासन वा प्रहरीलाई जानकारी गराउन उपभोक्तालाई आह्वान गरेको छ।

