पोखरामा गुरुङ कथानक चलचित्र ‘मनको राजा’ को प्रिमियर शो

Share:

पोखरा । गुरुङ समुदायको कथावस्तुमा आधारित चलचित्र ‘सौंर्बे म्रु (मनको राजा)’ को पोखरामा भिआइपी प्रिमियर शो सम्पन्न भएको छ। चलचित्र आइतबार पोखरास्थित मिडटाउन सिनेमाहरूमा प्रदर्शन गरिएको हो। सोम गुरुङको निर्देशनमा तयार भएको यो चलचित्र ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउन्डेसन घान्द्रुकद्वारा निर्माण गरिएको हो।

प्रिमियर शो कार्यक्रममा बोल्दै विष्णु बहादुर केसीले चलचित्र प्रदर्शनपछि घान्द्रुकको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले घान्द्रुक आसपासमा छायांकन गरिएको यस चलचित्रले उक्त क्षेत्रको प्राकृतिक सुन्दरता र सांस्कृतिक पहिचानलाई अझ व्यापक रूपमा चिनाउने बताए।

चलचित्रका निर्माता तथा नायक अमृत ​​गुरुङले चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्रीमार्फत घान्द्रुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रोडक्सन हाउस स्थापना गरिएको जानकारी दिए। उनका अनुसार घान्द्रुक आफैमा अत्यन्तै आकर्षक पर्यटकीय गन्तव्य भएकाले चलचित्रमार्फत यसको प्रचार-प्रसारलाई अझ सशक्त बनाउने प्रयास गरिएको हो।

प्रिमियर शोका अवसरमा चलचित्र निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। चलचित्र अब चैत ६ र ७ गते पोखरास्थित श्रीकृष्ण हलमा सार्वजनिक प्रदर्शन हुने निर्माता गुरुङले जानकारी दिएका छन्।

चलचित्रमा अमृत गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु र प्रिति गुरुङले मुख्य भूमिका निर्वाह गरेका छन्। त्यसैगरी कुल बहादुर गुरुङ, मञ्जु गुरुङ, निशु गुरुङ, रविता गुरुङ, बिनु गुरुङ, स्नेहा गुरुङ, लालशोभा गुरुङ, मिना गुरुङ, मौसम गुरुङ र ओम गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ।

प्राविधिक पक्षतर्फ निकोलस गुरुङले छायांकन तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन् भने सह-छायाकारका रूपमा करण भण्डारी रहेका छन्। कलाकारहरूको मेकअप भीमसेन गुरुङ (आशिष) ले गरेका छन्।

चलचित्रको संगीत तथा गायनमा धन बहादुर गुरुङ (लमजुङ), सन्तोष बस्याल र अमेरिकामा रहेकी ज्योति गुरुङले स्वर दिएका छन्। अडियो मिक्सिङ बुद्धराज बज्राचार्यले बार डिजिटल स्टुडियोमा गरेका हुन् भने रेकर्डिङ बज्रपादी कला स्टुडियोमा गरिएको हो। नृत्य निर्देशन साजन गुरुङ र सह-नृत्य निर्देशन रोहित गुरुङ ले गरेका छन्। पोस्ट-प्रोडक्सन लाइनअप स्टुडियोमा सम्पन्न गरिएको यो चलचित्रको उत्पादन व्यवस्थापन विकास क्रोम्छेले सम्हालेका छन्।

कमेन्ट गर्नुहोस्
Share: