टेम्पल ट्री रिसोर्ट १६औँ वर्षमा प्रवेश, सामाजिक कार्यसँगै उत्कृष्ट कर्मचारी सम्मान

Share:

पोखरा । पोखरा-६ बैदामस्थित टेम्पल ट्री रिसोर्ट र स्पाले स्थापनाको १५ वर्ष पूरा गर्दै १६औँ वर्षमा प्रवेश गरेको अवसरमा विविध सामाजिक गतिविधि तथा कर्मचारी सम्मान कार्यक्रम आयोजना गरेको छ। वार्षिकोत्सवका अवसरमा रिसोर्टले आइतबार बिहान लेकसाइडको स्ट्रिट नम्बर ६ आसपास क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्दै डस्टबिन वितरण गरेको थियो। त्यसैगरी पोखरास्थित मानव सेवा आश्रमको हेम्जा शाखामा खाद्य सामग्री वितरण गरी सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेको छ।

यस अवसरमा रिसोर्ट परिसरमै आयोजित विशेष समारोहमा उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गर्नुका साथै शुभकामना आदान-प्रदान गरिएको थियो। रिसोर्टमा लगातार १५ वर्षदेखि सेवा गर्दै आएका ऋषिराज गिरीलाई दीर्घसेवा कर्मचारी सम्मान प्रदान गरिएको छ। त्यस्तै १० वर्षदेखि निरन्तर सेवा गर्दै आएका रमेश गुरुङ तथा यस वर्षका उत्कृष्ट कर्मचारीका रूपमा युरोज श्रेष्ठ लाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा रिसोर्टका निर्देशक बिमल नहर्की र रञ्जन कृष्ण कायस्थसहित व्यवस्थापन पक्ष तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै रिसोर्टका अध्यक्ष बसन्त गौतमले टेम्पल ट्री स्थापनादेखि हालसम्मका सङ्घर्ष र सफलताका विभिन्न क्षणहरू स्मरण गरे।

उनले पछिल्ला वर्षहरूमा नेपालको पर्यटन क्षेत्रमा विभिन्न उतारचढाव देखिएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय परिस्थितिका कारण पर्यटन उद्योगमा पुनः चुनौती आउन सक्ने बताए। यस्तो अवस्थामा उपलब्ध पर्यटकलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनीहरूको मन जित्नु नै मुख्य चुनौती भएको उनले बताए।

त्यसैगरी रिसोर्टका निर्देशक प्रेमकृष्ण श्रेष्ठले दक्ष, इमान्दार र लगनशील कर्मचारीकै कारण टेम्पल ट्री पोखराको प्रतिष्ठित रिसोर्टका रूपमा स्थापित हुन सफल भएको बताए। सफलताको पछाडि रिसोर्टका साझेदारहरूको धैर्यता र कर्मचारीहरूको मेहनत प्रमुख आधार रहेको उनको भनाइ थियो।

कार्यक्रममा रिसोर्टका अपरेसन म्यानेजर सुमित भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने एचआर म्यानेजर रामकृष्ण कडेलले कार्यक्रम सञ्चालन गरेका थिए। समारोहमा रिसोर्टका कर्मचारीहरूले विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी वातावरणलाई थप उत्साहपूर्ण बनाएका थिए।

कमेन्ट गर्नुहोस्
Share: