कांग्रेसले टुंगो लगायो समानुपातिकको नाम

149
0
Share:

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगको बन्दसूचीमा समावेश भएका नाममध्येबाट आदिवासी जनजाति र खसआर्यतर्फ ६/६, थारू, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १/१ गरी ५ जनाको नाम टुंग्याएको र अन्य ३ जनाको नामसमेत ‘क्लस्टर’ आयोगमा पठाउने निर्णय भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

‘हाम्रो पार्टीले प्राप्त गरेको २० सिटका आधारमा नाम टुंग्याएका छौं, राष्ट्रियसभा र प्रतिनिधिसभामा गरी हाम्रो सिट ६२ रहेको छ, जसअनुसार २१ जना महिला अनिवार्य छ । यस आधारमा हाल १५ जना महिलासहित नामावली पठाएका छौं । क्लस्टरमा तलमाथि परेमा आयोगले भनेअनुसार गर्नेछौं,’ उनले भने ।

अहिले नाम भने सार्वजनिक नगरिएको पनि उनले उल्लेख गरेका छन् । कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । जसमा एक जनामात्र महिला उम्मेदवार विजेता बनेकी छिन् ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा भएको बैठकमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहितको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: