संसदीय अभ्यास सिक्न ललितपुरमा भेला हुँदै रास्वपा सांसद, फोटो खिच्न निषेध

146
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरु गर्दै छ । दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छबुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन् ।

उनका अनुसार कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ भने कार्यक्रमस्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ । परिवारका सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न निर्देशन गरिएको छ ।

चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था सांसदहरू स्वयम्‌कै हुने भनिएको छ । सांसदहरूले कार्यक्रमस्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट तथा फोटो खिच्ने वा बैठक नगर्न निर्देशन दिइएको छ ।

भद्र पोशाक लगाउन भनिएको छ । पत्रकारहरूलाई उद्घाटन र समापनसत्रमा मात्रै रिपोर्टिङका लागि आउन भनिएको छ । सभापति रवि लामिछानेले समापनसत्रलाई सम्बोधन गर्ने रास्वपाले जानकारी दिएको छ । लामिछाने सोमबार अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: